असोज ०६, २०८१, आइतबार
               

कारागार डुबानमा, कैदीको भागाभाग

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए ।

करिब १ सय ६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक–पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए ।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए ।

कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए ।

त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताए ।

कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि