असोज ०६, २०८१, आइतबार
               

छियाछिया गाउँ, थामिएको छैन आँशु

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

जाजरकाेट । बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् ।

गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो ।

शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ ।

बिरामी छिमेकीलाई भेट्न भएका कलु सार्कीका श्रीमान् तुले र उनका १४ वर्षीय छोरा रमेश छोरा कुम्दस्थित गोठमा गएका कारण बाँच्न सफल भएका हुन् ।

छ जनाको परिवार रहेको तुलेले श्रीमती कलु, छोरी तिर्खा, कमला र कान्छो छोरा सुभासलाई गुमाउनुपरेको छ ।

अर्का मृतक घरमुली गोपाल सार्कीका १३ वर्षीय छोरा पवनको मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ ।

पवनले बाबा गोपाल, आमा पुष्पा, बैनी लक्ष्मी र भाइ अर्जुनलाई सदाका लागि गुमाएका छन् । 

त्यस्तै कलुका घरमा पाहुना आएकाले कुशे गाउँपालिका–९ चौताराका तीन भाइबहिनीले समेत सार्कीगाउँकै पहिरोमा परी ज्यान गुमाएका छन् ।

आफन्त गुमाएकाहरू विद्यालयमा शरण लिएर बसेका छन् । विद्यालयमै काजकिरिया शुरु भएको छ । आफन्तको यादमा शुक्रबारदेखि आफन्तका आँशु थामिएका छैनन् ।

विस्थापित पाल र विद्यालयमा 

बाँचेका सबै स्थानीय विद्यालयमा बस्दै आएका छन् । सार्कीगाउँका मात्र ३२ घर विस्थापित भएको छ । बोहोराटोलमा १९ घर विस्थापित भएको छ । 

अन्य सबै वडा ५, १ लगायतका ठाउँमा गरी ५०० भन्दा बढी घरधुरी विस्थापित भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।

विस्थापित सार्की परिवारले जग्गा र अस्थायी घर निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । अहिले अस्थायीरुपमा ज्यान जोगाउन विद्यालयमा बसेका सर्वसाधारणले विकल्प दिन सरकारसँग माग गरेका छन् । 

विस्थापित लोकेन्द्र बोहोरा भन्छन्, “चिराचिरा परेको जमीन भत्किएको घर टाढैबाट हेरेर चित बुझाउँछौँ । केही मकै छ हामीसँग तर पिस्नका लागि घट्ट सबै खोलाले बगाउँदा समस्या भएको छ । स्थानीय बजारमा चामल छैन कसरी बाँच्ने ?” खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायकबाडा बारेकोटमा एक गेडा चामल छैन । जनता आवास कार्यक्रम लागू गर्न सर्वसाधारणको माग छ । 

पहिरोमा बेपत्ता भएकामध्ये शनिबार भेटिएका १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ

विद्यालयमै किरिया

१२ मध्ये १० जनाको शव जलाएर विद्यालयमा नै काजकिरियाको काम शुरु भएको छ । आज भेटिएका कमला सार्कीको दाहसंस्कार भए पनि लक्ष्मी सार्कीको दाहसंस्कार हुन बाँकी छ । 

पहिरो तथा खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए । त्यस्तै बारेकोट–६ धुमामा बेपत्ता दुई जनाको शव अझै फेला पर्न सकेको छैन । 

जुनिचाँदे–११ का डिल्ली चदारासमेत अझै फेला पर्न सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले हराएकाको खोजीकार्य जारी राखेका छन् । 

वनमन्त्रीको राहत 

आइतबार राहत लिएर काठमाडौंबाट सार्कीगाउँ जाने भनिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतको टोली आजमात्र हेलिकप्टरबाट गाउँ पुगेको छ । 

खराब मौसमका बीचमा गाउँ पुगेको मन्त्री बस्नेत सवार हेलिकप्टर प्रभावित गाउँमा अवतरण हुन नसक्दा ठकुरी जिरी गएर अवतरण गरी राहत सामग्री उपलब्ध गराएको छ । 

मन्त्रीलाई भेट्ने आशामा बसेका सर्वसाधारणले खराब मौसमका कारण भेट्न पाएनन् । दुई ठाउँमा हेलिकप्टर अवतरण गरे पनि हेलिकप्टर नै माटोमा गाडिएपछि छिटोछिटो हेलिकप्टर उडाइएको थियो । 

गाउँपालिकाद्वारा किरिया खर्च 

बारेकोट गाउँपालिकाले मृतकका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ । एकै घरका धेरै मृत्यु भएपछि आफन्तलाई पीडा खेप्न समस्या भएको छ । 

विस्थापितले तुरुन्तै राहत र पुनःस्थापना गर्न माग गरेका छन् । एकै ठाउँमा दर्जनौँ मानिस बसिरहेकाले व्यवस्थापनमा समस्या भएको छ । 

-हेमन्त केसी (रासस)


कस्तो लाग्यो ?

यो पनि