असोज ०६, २०८१, आइतबार
               

साँफे–मार्तडी सडकको विकल्पबारे अध्ययन

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

बाजुरा । जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित टोलीले साँफे–मार्तडी सडकको अवस्था र नयाँ मार्गका लागि विकल्पबारे अध्ययन गरेको छ । जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले द्वारी, अम्कोट बल्दे सडकको विकल्पबारे जानकारी लिएको छ । टोलीले स्थलगत अध्ययनसहित नयाँ मार्ग बन्न सक्ने प्रारम्भिक अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जानकारी लिन टोली बल्दे, द्वारी, अम्कोट हुँदै धुरालसैनसम्म पुगेको थियो ।
    
करिब एक किलोमिटरभन्दा बढी सडक पहिरोले भासिएको र साँफे मार्तडी सडकअन्तर्गत द्वारी क्षेत्रमा नयाँ मार्ग निर्माणका लागि कुनै विकल्प नभए पनि अर्को मार्गको बारे छलफल सुरु गरिएको छ । बल्देबाट आटीचौर जाने सडकलाई नै माथि पुर्याएर अम्कोटमाथि हुँदै तिपाडा झार्न सकिने विकल्पबारे छलफल चलिरहे पनि त्योसमेत दिगो नहुने देखिएको छ ।

जिल्लास्तरीय टोलीले अवस्थाबारे जानकारी लिन मात्र गएको र सडकको मार्गबारे प्राविधिक अध्ययनपछि मात्र थाह हुने बताएको छ । सडक पहिरोले भासिएपछि चार दिनदेखि साँफे मार्तडी सडक पूर्णरूपमा बन्द भएको छ । 

सवारीसाधान मार्तडीबाट द्वारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदल यात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ । 


कस्तो लाग्यो ?

यो पनि