असोज ०६, २०८१, आइतबार
               

म्याग्दी पहिरो अपडेट :  २७ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

म्याग्दी । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् ।

धवलागिरी–६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे,  आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली,  सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी,  हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ। 

मालिका–७ विमकी विष्णु पौडेल, वीरबहादुर नेपाली, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मराङको रिखको पहिरोमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् । पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनीमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

पहिरोका कारण जोखिममा परेका झण्डै ९०० जनलाई सुरक्षित स्थानमा सारिएको छ । धवलागिरी गाउँपालिकाका मात्र ५९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको सहयोगमा पाल, ब्ल्यांकेट, कम्बल, ड्राइफुड, दाल चामल समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि