कात्तिक ०२, २०८१, शुक्रबार
               

सदस्यसचिवका लागि दरखास्त आह्वान

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । 

युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्न आग्रह गरेको छ । 

सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ । 

तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्नेछ । 

कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । 

नयाँ खेलकूद विकास ऐन, २०७७  यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो । 
 
नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । 

समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्यसचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । 

सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।

नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदमुक्त भएका थिए । 

मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिवको जिम्मेवारी सुम्पेको छ ।

राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुनलागेको यो पहिलोपटक हो । 

यसअघि युवा तथा खेलकूदमन्त्रीले नै सदस्यसचिव नियुक्त गर्ने चलन थियो ।  


कस्तो लाग्यो ?

यो पनि