असोज ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घण्टाभित्र विपद‍्मा परी १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परेर २२ जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङ्कोटमा बिहान पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन् । पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ । 

यस्तै कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन् । कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 

लमजुङकाे बेँसीसहर नगरपालिका–७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा पहिरो आएर दुई घर पुरिंँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ ।

धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अवरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ । 

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसी गाउँपालिकामा बिहीबार खसेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले जनाएको छ ।

आज कोसी, नारायणी नदीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ ।

त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ । प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरूमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ । 

अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि