असोज ०६, २०८१, आइतबार
               

पहिरोका कारण स्वास्थ्यचौकी जोखिममा

नेपाल फ्ल्यास
असार २६, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ ।

भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ । केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको छ ।

'१५० घटनमिटर जतिमा ग्याबिन जाली लगाउनुपर्ने भएको छ', उनले भने, 'तलैदेखि संरचना बलियो नबनाए सँधै जोखिम निम्तने खतरा छ ।'नगरपालिकादेखि प्रदेश र सङ्घ सरकार मातहतका कार्यालयसँग पनि जाली माग गरिएको छ । आर्थिक वर्ष सकिन लागेकाले स्रोत जुटाउन कठिनाइ भएको जनाइएको छ ।

सडक किनारादेखि नै ग्याबिन जाली लगाउने वडाको योजना छ । पहिरो राकथामसहित मर्मत, सुधारको काम गर्न झण्डै १५ लाख खर्च हुने अनुमान छ । भवनको माथिल्लो भू–भागमा पनि पहिरोको जोखिम छ ।

भवन बनाउने बेलैमा जग बलियो नबनाएका कारण समस्या आएको जनाइएको छ । पहिले खेत रहेको ठाउँ सम्याएर स्वास्थ्यचौकी भवन बनाइएको हो । भवन बनाउन गाउँलेले जग्गा दान गरेका थिए ।

'स्वास्थ्यकर्मीदेखि सेवा लिन आउने सर्वसाधारणलाई पनि पहिरोको डर छ', स्वास्थ्यचौकी प्रमुख नारायण पौडेलले भने, 'छिटो ग्याबिन लगाएर पर्खाल उठाउनुपर्छ ।' भवनअघिकै भाग धसिएकाले भित्र आवतजावत गर्नसमेत वैकल्पिक उपाय गरिएको छ ।

कतिखेर पहिरो खस्छ भन्ने डरले सो भवन तलको सडकमा हिँडडुल गर्नेसमेत त्रसित  छ । जोखिमका कारण सेवा लिन आउनेको सङ्ख्या पनि घट्न थालेको उनको भनाइ छ । भर्खर बनेको भवन पहिराको जोखिममा परेपछि स्थानीयवासी चिन्तित छन् ।

भवन बनाउँदा प्राविधिक अध्ययन अपुग भएको हुनसक्ने वडाको ठहर छ । पुरानो भवन जीर्ण बनेपछि दुई करोड तीन लाखको लागतमा यसै वर्ष नयाँ भवन बनाइएको हो । स्वास्थ्यचौकीलाई दुई महिनाअघि मात्र नयाँ भवनमा सारिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि