असोज ०६, २०८१, आइतबार
               

दिउँसो कागज बोतल उठाउने हुलियामा चियोचर्चो, रात परेपछि चोरी

नेपाल फ्ल्यास
असार २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले रातको समयमा चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार मोरङको उर्लाबारीबाट दुई जना र काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ३७ वर्षीय  सुमित भन्ने गङ्गाबहादुर तामाङ, महोत्तरी बर्दिवास नगरपालिका ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुरका ४९ वर्षीय विक्रम भन्ने जङ्गबहादुर माझी रहेका छन् । चोरीमा संलग्न दुईजना भारतीय नागरिक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको समूहले गत फागुन १८ गते रातको समयमा काठमाडौंको लाजिम्पाटमा रहेको दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट १ किलोभन्दा बढी सुनका गहना र रकम चोरी गरेको खुलेको छ ।

ज्वेलर्समा रहेको १ किलो १५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गहना र नगदसमेत गरी पचासी लाख रुपैयाँ बराबरको मालसामान चोरी गरेको प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उनीहरू जेलमा बस्दा एक अर्कासँग चिनजान भएको खुलेको छ । जेलबाट छुटे पश्चात् पुनः भेला भई अन्तिमपटक ठूलो धनमाल चोरी गर्ने भन्दै योजना बनाएर चोरी गरेको खुलेको एसपी कार्कीले जानकारी दिए ।

उनीहरूले चोरी गर्नको लागि एक सातासम्म साइकलमा कागज बोतल उठाउने हुलियामा हिँडेर पसलको रेकी गरेको देखिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि