जेठ ०६, २०८१, आइतबार
               

विवादास्पद बोलपत्र रद्द ! नीतिगत भ्रष्टाचार गर्ने अस्गर अलीको योजना तुहियो

नेपाल फ्ल्यास
असार २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले खरिद गर्न लागेको सर्भिलेन्स गाडीसहितको इ–एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम रद्द गरेको छ । प्रहरी प्रधान कार्यालयले विवाद भएको भन्दै खरिद प्रक्रिया रद्द गरेको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सोमबार प्रबन्ध शाखालाई त्यसको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएका थिए ।

नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको इ–एलटीई र्‍यापिड कम्युनिकेसन उपकरण खरिद गर्न लागेको थियो । प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदका लागि प्रधानमन्त्री कार्यालयले ज्ञवालीलाई निर्देशन दिँदै आएको थियो । तर महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा अनावश्यक सामग्री खरिद गर्दा त्यसको अपजस आफूले मात्रै लिनुपर्ने भएपछि अवकाशको मुखमा टेन्डर रद्द गराएका हुन् । जाँदाजाँदै प्रहरी प्रमुखको यस्तो ‘बोल्ड डिसिजन’को आम प्रहरी अधिकृतले स्वागत गरेका छन् । यो निर्णयले ‘उपल्लो निकाय’को दबाबमा हुने एउटा नीतिगत भ्रष्टाचार तुहिएको छ । नेपाल प्रहरीलाई अनावश्यक भार बोकाउन लागिएको समाचार नेपाल फ्ल्यासले लगातार दिएपछि प्रहरीले सो प्रक्रियाबाट पछि हट्न बाध्य भएको हो ।

कोरोना कहरबीच प्रहरी जनशक्ति स्वास्थ्य सामग्रीबिनै फिल्डमा खटिरहेको अवस्थामा झन्डै १५ करोड खर्चेर उपकरण तथा गाडी खरिद गर्न लागेको समाचार नेपाल फ्ल्यासले सार्वजनिक गरेको थियो । मिलेमतोमा चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको  विषयमा प्रहरीभित्रै व्यापक विरोध भएको थियो । सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ । प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपद् आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएका भन्दै प्रधानमन्त्रीका विवादास्पद आइटी विज्ञ अस्गर अलीको ‘डिजाइन’मा उपकरण खरिद अन्तिम चरणमा पुर्‍याइएको थियो । अलीकै प्रभाव र दबाबमा एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टमको बोलपत्र आव्हान गरी सुटुक्क हुवावेसँग मात्रै भएको इ-एलटिई सिस्टम खरिद गर्न लागेको समाचार नेपाल फ्ल्यासले सार्वजनिक गरेको थियो । सो सिस्टमसँगै दुईवटा गाडी र अत्याधुनिक ‘ड्रोन’ लगायतका उपकरणहरू पनि खरिद गर्न लागिएको थियो ।

स्मरण रहोस्, एकै प्रयोजनका लागि प्रयोग हुने विभिन्न उपकरणहरूलाई ‘क्याटागोराइज’ गरी भिन्न भिन्न बोलपत्रहरूमा बाडिएको थियो । चिनियाँ कम्पनी हुवावे निकट मानिएका अस्गर अलीको प्रत्यक्ष हस्तक्षेपमा इ-एलटिई सिस्टम सोही कम्पनीलाई दिने गरी सञ्चार महाशाखाका तत्कालीन डिआइजी राजीव सुब्बाको सहयोगमा अन्तर्राष्ट्रिय बोलपत्र माग गरिएको थियो भने २ वटा गाडी, ड्रोन र अन्य सहायक उपकरणका लागि राष्ट्रिय बोलपत्र माग गरेको थियो । (हेर्नुहोस् तस्बिरमा)

फागुनमै खरिद प्रक्रिया अघि बढिसकेको भए पनि कोरोनाका कारण अघि बढ्न सकेको थिएन । प्रहरीले प्रि–बिडिङ बैठक १८ चैतमा बोलाएको भए पनि त्यति बेला प्रक्रिया रोकिएको थियो । त्यसपछि २० वैशाख र २१ जेठ हुँदै तीन पटक रोकेर २७ जेठमा बैठक राखी ३ असारमा दुईवटा कम्पनी छनोट गरिएको थियो । जसमध्ये सबैभन्दा कम बोलकबोल पेस गर्ने हुवावेको नेपालस्थित एजेन्ट मोविलिटी कम्पनीलाई ठेक्का स्वीकृत गर्ने तयारी थियो ।

यसअघि चीन सरकारले सन् २०१६ मा नेपाल सरकारलाई सो उपकरण निःशुल्क उपहार दिएको थियो । टेलिकमको स्टोर शाखामा रहेको उपकरण हाल नेपाल प्रहरीले ल्याइसकेको छ । ‘सर्भिलेन्ससहितको सो कम्युनिकेसन सिस्टम अहिले नेपाल प्रहरीलाई आवश्यक छैन । यसबारेमा सामान्य जानकारी लिन पनि प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीलाई सोध्नुपर्ने ! उनकै दबाबमा प्रहरीले खरिद गर्न लागेको ठेक्का विवादित बनेपछि रद्द भएको हो ।’, प्रहरी मुख्यालयका एक अधिकृतले भने । यसबारे प्रहरी प्रवक्ता डिआइजी निरज शाहीसँग बुझ्न पटक पटक सम्पर्क गर्दा पनि मोबाइल उठेन ।

गाडीमा जडित एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टमले सवार व्यक्तिका गतिविधिको भिडियो रेकर्ड गर्नेछ । सुरक्षा थ्रेट मानिएका विश्वका थोरै मात्रै राष्ट्रप्रमुखको सुरक्षाका लागि यस्तो उपकरणजडित सर्भिलेन्स गाडी प्रयोग गरिन्छ । नेपालमा पनि चिनियाँ राष्ट्रपति सी चीन फिङको भ्रमणताका सो उपकरण प्रयोग गरिएको थियो ।

जानकारका अनुसार सो उपकरण ब्रोड ब्यान्ड प्रविधिमा आधारित छ । त्यही भएर दुर्घटना भएको स्थानबाट रेडियो फ्रिक्वेन्सीमार्फत कमान्ड सेन्टरमा भिडियोसमेत पठाउन मिल्ने भएको भन्दै प्रधानमन्त्रीको सुरक्षा सर्भिलेन्सका लागि प्रयोग गर्न लागिएको थियो । यस्तै प्रविधि प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका आयोजना मोनिटर गर्न मिल्ने गरी जडान भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि