जेठ ०३, २०८१, बिहीबार
               

स्नातक तहमा अध्ययनरत छोरीबुहारी निःशुल्क शिक्षा

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगी महाविद्यालयमा स्नातक तहमा अध्ययनरत ४२ छात्रालाई नि:शुल्क  शैक्षिक सामग्री वितरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले बताइन् । महिलासँग उपप्रमुख शीर्षकमा चालू आर्थिक वर्षमा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेटबाट नगरपालिकाका नौवटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको उनले सुनाइन् ।

आयआर्जन कार्यक्रमअन्तर्गत जुत्ता सिउने, विभिन्न सामान बुनाई, कौसी खेती, अचार बनाउने लगायत सीपमूलक तालीम दिइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका करिब ३०० महिला यो तालीमबाट घरमै बसेर स्वआर्जन गर्न सक्षम भएका छन् ।

शैक्षिक सामग्री वितरण गर्न शुक्रबार आयोजित कार्यक्रममा नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठलगायतले निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान दिएको बताइन् ।

नगरपालिकाको सहयोगमा महाविद्यालयमा अध्ययनरत ४२ जना बुहारी एवं छोरीलाई किताब, कापी, झोलालगायत शैक्षिक सामग्री दिइएको हो । वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि एक–एक लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्थासमेत मिलाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि