दाङ । दाङको शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ ।
वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार चार–पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ ।
वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।
डीएसपी खड्काले भने, ‘घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेको छ । घटनाको प्रकृती हेर्दा विप्लव समूहको संलग्नता जस्तो देखिन्छ, यद्यपि अनुसन्धान भइरहेको छ ।’
घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए । वडाध्यक्ष डाँगीमाथि आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको डीएसपी खड्काले बताए ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले कार्यालयमा विप्लव समूहको पर्चा भेटिएकाले सोही समूहले आक्रमण गरेको अनुमान गरे । तर पर्चामा के लेखिएको छ भनेर उनले खुलाएनन् ।
वडाध्यक्ष डाँगी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।