जेठ ०६, २०८१, आइतबार
               

'नेपालमा सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून'

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

चितवन । नेपालमा अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उनले भने, “त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले  सो कीरा फैलिने सम्भावना कम रहेको छ । ”

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन् क्षेत्रतर्फ फर्किने अनुमान समेत गरिएको छ । उनले भने, “नेपालमा ती कीरा  फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ ।  प्रजनन्का लागि यो पुनः त्यही फर्किने सम्भावना छ ।” अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका  ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औल्याएका छन् । अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका भएको उनको भनाइ छ ।  सलहको आयु छैटौँ चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ । सरसरर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ ।

प्रजनन्का लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ ।  उनले धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो । यसको सिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । उनले भने,  “यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ ।”

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ । सलह कीरा एक ठाउँबाट अर्काे ठाउँमा वा एक खेतबाट अर्काे खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिड्ने बताइन्छ । 

संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कअनुसार साधारणतय सो कीराले प्रति दिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।

सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठानिएको छ ।  यिनिहरुको जनसङ्ख्या आठ हजार गुणासम्म बढेको बताइन्छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरुको जनसङ्ख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको  जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि