जेठ ०५, २०८१, शनिबार
               

न्याय खोज्दै बोक्सीको आरोपमा कुटिएकी महिला

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

बोक्सीको आरोपमा कुटपिटसहित मलमुत्र खुवाइएकी रौतहटकी एक महिलाले न्याय पाएकी छैनन् । निर्घात कुटपिट भएको र मलमुत्र खुवाइएको २ साता बित्दा पनि राजनीतिक दलका नेताको दबाबमा पीडकलाई कारबाही नभएका पिडीतको गुनासो छ । 

जेठ ३० गते बौधिमाई नगरपालिका–७ की ५० वर्षिया मदिना खातुनलाई ५ जना स्थानीय महिला र पुरुषहरूको समूहले कुटपिट गरेका थिए । स्थानीय र प्रहरी आएपछि कुटपिटमा संलग्नहरू मलमुत्र छाडेर भागेका थिए । कुटपिटमा संलग्नहरू केही दिन गाउँबाटै बाहिर गए पनि अहिले आइसकेका छन् । तर, प्रहरीले उनीहरूमाथि कुनै सोधपुछसमेत नगरेको पीडित महिलाको परिवारले गुनासो गरेको छ ।

घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुग्दा उनको शरीरभरी मलमुत्रको दुर्गन्ध रहेको र घाइते अचेत भेटिएका स्थानीयले बताएका छन् । ‘उनलाई तत्काल अस्पताल नपुर्‍याएको भए ज्यानसमेत जान सक्ने थियो, धन्न समयमै प्रहरी र अरू स्थानीय आए,’ एक स्थानीयले भने । 

भैँसीले दूध नदिएको भन्दै मदिना खातुनलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । ‘घरमा हामीहरू कोही थिएनौँ, मेरी बुढी एक्लै थिइन्, त्यही बेलामा नजिकै घर भएकाहरू आएर बुढीलाई बोक्सी भन्दै लछारपछार पारेछन्, इँटा पोलेर शरीरभरि डामिदिएका छन्, आँखासमेत झन्डै फुटाइदिएनन्, पछि प्रहरी आएपछि, उनीहरू भागे,’ पीडित महिलाका पति अबु महमद लहरीले बताए ।

आक्रमणसँगै मदिना खातुनको घरसमेत भत्काइएको थियो । जस्ताको टहरासमेत भत्किएपछि अहिले टालटुल पारिए पनि पानी चुहिने गरेको उनको परिवारले बताएको छ । अहिले वर्षाले घरभित्र पानी जमेको छ ।

आक्रमणसँगै मदिना खातुनको घरको छाना यसरी भत्काइयो

बोक्सीको आरोप लगाउँदै आक्रमण गर्ने पाँच जनामध्ये एक जना स्थानीय नेतासमेत छन् । स्थानीय तह निर्वाचनमा संघीय समाजवादी पार्टीबाट निर्वाचन लडेको र अहिले सत्तारुढ दल नेकपाका स्थानीय नेता छन् । उनीसमेत आएर आक्रमण गरेकाले प्रहरीले कारबाही नगरेको पीडित महिलाकी पति अबु महमद लहरीले बताए । उनले गुनासो गरे ‘घटना भएको सबैले देखेका छन्, प्रहरी आफैँले समेत देखेको छ, तर हाम्रो कुरा कसैले सुन्दैन, हामीलाई न्याय चाहिएको छ ।’ 

कुटपिटबाट मदिना खातुनको एक आँखामा गम्भीर चोट लागेको छ । उनको शरीरभरि तातो इँटाले डामेको घाउ छ । उनी अझै हिँडडुल गर्ने अवस्थामा छैनन् । सदरमुकामको अस्पतालमा एक साताको उपचारपछि घर फर्किए पनि पैसाको अभावमा पूरा उपचार गर्न नपाएको पीडित महिलाका पतिले गुनासो गरे । ‘४०–५० हजार रुपैयाँ खर्च भइसक्यो, आँखाको उपचार पूरा गर्नै पाएको छैन, अरू शरीरमा भएका घाउ चोटका सामान्य उपचार गराएका छौँ, अबु महमद लहरीले भने ।

घटनाका दोषीलाई कारबाही गर्न आनाकानी गरिरहेको रौतहट प्रहरीले भने दोषी उम्कन नपाउने दाबी गरेको छ । घटनाको तथ्य र प्रमाण सङ्कलन गरिएको बताउँदै रौतहट प्रहरीले दोषीलाई पक्राउ गर्ने बताएको छ । ‘घटना दुखद हो, यस विषयमा हामी थप गम्भीर बन्छौं, पीडकलाई बोक्सी कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरिनेछ’ रौतहट प्रहरीले बतायो ।


कस्तो लाग्यो ?

यो पनि