बैशाख २३, २०८१, आइतबार
               

दैनिक भारी वर्षा, जोगिन तयारी नै छैन

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

जाजरकोट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन ।

जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ ।

विपत् व्यवस्थापको लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । सुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ । वर्षाको भेलसँगै उर्लँदै आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन ।

सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए । उनले भने, ‘बारेकोट सामग्री लिन कठिन भएको छ, पहिले लक डाउन थियो, अहिले अलि खुकुलो हुँदा समय मात्र होइन, बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।’ भेरी नदीको किनारका बस्तीहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।

सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ ।

बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनु परेको थियो । लामो समयसम्म खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्कीएका थिए । 

त्यस्तै, सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीचबीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । विगत ९ वर्षदेखि शिवालय गाउँपालिका–१ मोर्कमा सवारी साधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वित्तिकै छेडा–जुनिचाँदे सडक बन्द हुने गर्दछ । छिन्चु–जाजरकोट सडकखण्डको पासागाड, खोदाखोलालगायत चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधन ठप्प हुने गरेका छन् । 

खोलामा नियन्त्रणको काम भएन 

सातै वटा स्थानीय तहमा रहेका सानादेखि ठुला गाउँ, बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमीन जोगाउने उपाय अवलम्बन गरिएको देखिएको छैन । नलगाड नदी, छेडाखोला, ताँसु गाड खोला, भेरी नदी, पासागाड खोला, सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतिका विषयमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । यी त देखिने खालका खोलाहरु मात्र हुन् । 

अन्य दर्जनौँ साना खहरे खोला भए पनि त्यहाँ पनि नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुने भन्दै सोहीअनुसार काम गर्न लागेको बताएका छन् । 

विपत् प्रतिकार्य योजना 

यत्ता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत् प्रतिकार्य योजना बनाउनका लागि तीन महिनाअघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ ।

स्थानीय भौतिक पूर्वाधार कार्यक्रम ((सांसद विकास कोष) को खर्च हुन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट मनसुन विपत्को काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

आफूहरुले जाजरकोटमा पर्ने समस्यालाई हल गर्न विपत् व्यवस्थापन कार्यका लागि उद्धार सामग्री भण्डार कक्ष निर्माण गरेर परेको बेला तत्काल जान सक्ने तयारी थालेको प्रजिअ पन्तले बताए । - रासस


कस्तो लाग्यो ?

यो पनि