जेठ ०६, २०८१, आइतबार
               

पर्वतमा भेटिएको दुर्लभ कालीनाग (सर्प) को संरक्षण सुरु

नेपाल फ्ल्यास
असार १३, २०७७

ADVERTISEMENT

पर्वत । पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए ।

स्थानीयको खबरपश्चात आएको विशेषज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् । पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताए । बरालका अनुसार उक्त सर्प पोथी कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यही ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताए । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको बताए ।

यो सर्प संसारकै विषालु हुने हुँदा बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उनको सुझाव छ । उनले सोही स्थानमा तारबेर लगाएर राख्ने र पछि बच्चा कोरलीसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताए । संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको रहेको छ ।  

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताए । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठूलो प्रजातिको सर्प घर आसपास देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । यसअघि पनि पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी र वडा नंं १२ ठूलीपोखरीमा किङकोब्रा भेटिएको थियो । उक्त किङकोब्रालाई सर्प संरक्षकले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्वतकै घना जङ्गलमा छोडिदिएको थियो ।  - रासस


कस्तो लाग्यो ?

यो पनि