असोज ०६, २०८१, आइतबार
               

चीनको टिप्पणीमा भारतले दियो यस्तो जवाफ

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तपछि दुवै तर्फबाट लगातार विभिन्न दाबी र टिप्पणीहरु आएका छन् । चीनको विदेश मन्त्रालयले गलवान उपत्यकाको स्वामित्व चीनसँग रहेको र भारतीय सेनाले सीमा नाघेकाले भिडन्त भएको बताएको थियो ।

त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले भारतीय सेनाले कहिल्यै पनि वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्ने प्रयास नगरेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले भनेका छन्, ‘गलवान उपत्यकालाई लिएर भारतको स्थान ऐतिहासिक रुपमै स्पष्ट छ । चीनले एलएसीलाई लिएर भइरहेका पछिल्ला दाबी कुनै पनि रुपमा स्वीकार्य छैन ।’

भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा गलवान उपत्यकासहित भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखासँग जोडिएका क्षेत्रबारे भारतीय सेनालाई पूर्ण जानकारी रहेको र त्यसको पूर्ण सम्मान पनि गर्ने उल्लेख छ । भारतीय सेनाले कहिल्यै पनि एलएसी पार गर्ने कोशिश नगरेको दाबी भारतको विदेश मन्त्रालयले गरेको छ ।

भारतीय सेनाले लामो समयदेखि सो क्षेत्रमा सुरक्षा गर्दै आएको र सेनाबाट जति पनि निर्माण कार्य भएका छन् ती सबै भारत तर्फ नै रहेको वक्तव्यमा भनिएको छ ।

मे देखि नै चिनियाँ सैनिकले गस्तीमा रहेका भारतीय सैनिकलाई अवरोध गर्ने गरेको पनि विदेश मन्त्रालयले बताएको छ । गएको सोमबार राति भएको भिडन्त पनि चिनियाँ सैनिककै अवरोधका कारण भएको भारतले दाबी गरेको छ ।

तर, चीनको विदेश मन्त्रालयले यसअघि नै वक्तव्य जारी गरेर २० भारतीय सैनिकको ज्यान जाने गरी एलएसीमा सोमबार राति भएको भिडन्तमा चीनको कुनै दोष नरहेको दाबी गरेको थियो ।

यस्तै चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको पनि बताएको थियो।

त्यसको तीन दिनपछि बिहीबार बेलुका चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई स्वतन्त्र गरेको उच्च सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर छापेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले भारतीय सैनिक हिरासतमा लिए नलिएको पुष्टि भने गरेनन् ।

चीनले गलवान उपत्यका आफ्नो अधिकार क्षेत्रको भूभाग रहेको बताएको छ । यसमा भारतको पनि दाबी रहँदै आएको छ । तर शुक्रबार सर्वदलीय बैठकको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले कुनै पनि भारतीय क्षेत्रमा कसैको नियन्त्रण नरहेको र चेकपोस्ट पनि नियन्त्रणमा नरहेको बताएका थिए ।

यसको अर्थ गलवान उपत्यकामा भएको भिडन्त चिनियाँ क्षेत्रमा भएको र सो भूभाग चीनकै रहेको मोदीले पुष्टि गरेको भन्दै विभिन्न क्षेत्रबाट मोदीको आलोचना भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि