असोज ०६, २०८१, आइतबार
               

आज सूर्यग्रहण, के–के गर्न हुँदैन ?

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन । यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘यो बेला गरिएको सानो दान र धर्मले पनि अक्षय फलप्राप्त गर्ने शास्त्रीय मान्यता छ,’ उनले भने, ‘भगवानको मन्त्र जपले पनि धेरै फाइदा पुग्छ ।’

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ ।

ग्रहणको समयमा ग्रहण स्पर्श भएसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहायलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ । ग्रहणको समयमा घरमा विकिरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घिउ, पानी, अचार आदिमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । योबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।

खगोल शास्त्रका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दो सूर्यका किरण छेकिन्छन् र पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण खग्रास (पूरै छेकिने), खण्डग्रास (केही भाग मात्रै छेकिने) र बलय (सूर्य केवल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि