हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत असार २ गते भान्सा कोठामा मृतावस्थामा सुस्मिताको शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको हत्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।
एसपी राठौरका अनुसार थापाको शव भान्छामा विभत्स अवस्थामा सिलौटा हानेर हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पाइ–तड्पाइ हत्या गरिएको हुनसक्छ ।
मृतक थापाको टाउकोमा गम्भीर चोट, आँखा फुटाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ ।
घटनामा सुस्मिताका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार मृतककी ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।
सोही दिन घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको प्रहरीसमक्ष बताएका छन् ।
६ महिनाअघि पतिको मृत्यु
एक वर्षअघि सुस्मिताको हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भयो ।
कपिलवस्तु जिल्लाको बाणगंगा माइती भएकी सुस्मिता र रुपेन्द्रले सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह गरेका थिए । उनीहरुबीच कहिले नराम्रो भएन ।
गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । बुटवल सुस्मिताको माइत हो । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे । भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए ।
घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोक्कियो । लगत्तै घटनास्थलमै उनको ज्यान गएको प्रहरीको भनाइ छ ।
त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् ।
लकडाउन हुनुभन्दा ३,४ दिनअघि मात्र सुस्मिता हेटौंडाबाट कपिलवस्तु माइत गएकी थिइन् । लकडाउनको कारण सुस्मिता लामो समय कपिलवस्तुमै रोकिइन् ।
पतिको मृत्यु भएको ६ महिना पुग्दै थियो । लकडाउनकै समयमा ६ महिनाको ‘बराखी छ, के–के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाए । सुस्मिता असार २ गते हेटौंडा आइन् ।
हेटौंडा आएकै दिन सुस्मितालाई घरमा अनेकथरी भनेर गाली गरिएको थियो । त्यसपछि सुस्मिताले माइतमा आमासँग राति १० बजेतिर अनलाइनमा कुरा गरेर चाँडै लिन आउनु भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अन्ततः सोही दिन राति १२ बजेतिर सुस्मिताको ज्यान गयो ।
पैसाको लागि हत्या
सवारी दुर्घटनामा ज्यान गुमाएका श्रीमान रुपेन्द्रको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो । उक्त रकमकै लागि परिवारकै सदस्यहरूबाट हत्या भएको आशंका छ ।