असोज ०६, २०८१, आइतबार
               

भक्तपुरमा ६५ प्रतिशत रोपाईं सकियो

नेपाल फ्ल्यास
असार ०४, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौंं । कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाईंको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाईं सुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाईंको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै सुरु भएको रोपाईं अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाईं ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाईं सकिन लागेको बताउछन् । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाईं सुरु गरेको जानकारी दिए । लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उनको भनाइ छ ।

जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाईं सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाईंको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाईं चाँडो हुँदा रोपाईं सकिने अवस्थामा पुगेको बताए ।

उनले भने, “यस वर्ष सिमखेतमा जेठमै रोपाईं भयो, कुलो नलाग्ने र आकाशेपानीको भर पर्नुपर्ने खेतमा पनि पानी भरिएका छन्, ढिला बीउ राख्नेहरूले छोटो बीउ रोप्न थालेका छन्, धेरैले रोपाईं सकिसके, बाँकी भएकालाई पनि रोपाईंको चटारो छ ।” सूर्यविनायक नगरपालिका–८ सिपाडोलका श्यामलाल श्रेष्ठले सिपाडोल क्षेत्रका किसानलाई रोपाईंको चटारो परेको छ भन्दै रोपाईंमा खेताला नपाउँदा अझै ढिला भएको बताए ।

यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाईं सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउछन् । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाईं हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ । 

कोरोनाको त्रासलाई छिचोल्दै किसानले रोपाईं गरेका हुन् । चानपा–८ सुडालका किसान रामप्यारी कार्कीले वर्ष दिनभरि खान धान फलाउने बेलामा कोरोनासँग डराएर खेती बाँझै राख्न नहुने बताउँदै कोरोनाको डरलाई हटाइन् । खेतमा काममा सबै व्यस्त भएको बताइन् । उनले भनिन्- “लकडाउनले यस वर्ष रोपाईंलाई धेरै सजिलो बनायो, वर्षा पनि जेठमै सुरु भयो, जेठमै आली लाएर खेतभरि पानी जमाउन पाइयो, सबै बन्द भएकाले घरभरि भएका मानिस पनि रोपाईंमा जान पाए, रोपाईंमा यस वर्ष लकडाउनले सजिलो बनायो ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाईं सकिन लागेको बताए । उनका अनुसार यस वर्ष नगरपालिकाले धानको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको र मल पनि समयमै विभिन्न निकायले वितरण गरेकाले सहज र छिटो रोपाईं सकिन लागेको छ । 

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पनि सूर्यविनायकका सबै क्षेत्रमा रोपाईं सकिन लागेको बताए । यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै मनसुन सक्रिय हुनुअघि नै रोपाईं सक्नु किसानका लागि खुशीको कुरा भएको बताए । भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका अधिकांश क्षेत्रमा पनि रोपाईं सकिन लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि