जेठ ०६, २०८१, आइतबार
               

रासनको कमिसन सैनिक नेतृत्वसम्म ! सैनिक जवानलाई तन्दुरुस्तीको चिन्ता

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनालाई खुवाउने राशनमा ठेकेदार कम्पनीहरूले बठ्याई गर्दा गुणस्तरमा प्रश्न उठ्न थालेको छ । ठेक्का हात पार्न बजार भाउ भन्दा सस्तो मूल्य राखेर दरभाउ दिने र ठेक्का हात परेपछि कम गुणस्तरका सामान सप्लाई गर्नेभएकाले समग्र खाद्यान्न सामग्री सप्लाईमै प्रश्न उठ्न थालेको हो । नेपाली सेनाले एक वर्षका लागि गरेको ठेक्का सम्झौताअनुसार सामान सप्लाई नगर्दा  सेना ठेकेदार कम्पनीहरूबीच बेलाबखत विवाद उत्पन्न हुने गरेको छ । 

नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत ठेक्का हात पार्न सफल भएको श्यामबाबा इन्टरप्राइजेज प्रालिका सञ्चालकहरूले अहिले सेनालाई सप्लाई गर्ने खाद्यान्न दूध, चामल, दाल, मासु आदिमा बठ्याई गरिरहेका छन् । ठेकेदार कम्पनीका सञ्चालकहरू श्याम अग्रवाल, प्रमोद अधिकारी र जनार्दन ढुंगेलले ठेक्का हात पार्नका लागि प्रचलित बजार मूल्यभन्दा निकै कम दरमा सामानको मूल्य राखेको तर ‘अहिले सामान पाइएन, मूल्य बढ्यो’ जस्ता बहाना बनाइ सम्झौताअनुसारको सामान नदिँएपछि ठेकेदार र नेपाली सेनाबीच खटपट सुरु भैसकेकको छ । 

थापाकै कार्यकालमा श्यामबाबा इन्टरप्राइजेजहरूले रासन ठेक्कामा ढुक्कसाथ गम्भीर बदमासी गरिरहेका छन् । प्रधानसेनापतिको ३ बर्से कार्यकाललाई सहजै व्याख्या गर्ने नेपाली सेना बृतमा एउटा चर्चित व्यङ्ग्यात्मक उक्ति छ : गरम, नरम ,बेसरम ! प्रधानसेनापति थापाको कार्यकालले भने यो उक्तिलाई गलत साबित गर्ने आशा गरिएको छ ।

नेपाली सेनाले टेन्डर सम्झौताअनुसारको सामान खोजिरहेको छ, तर ठेकेदार कम्पनी त्यो दिन तयार भएको छैन । सम्झौता बमोजिमको सामान दिँदा करोडौँ रुपैयाँ घाटा लाग्ने भएपछि बजारमा सामानको अभाव देखाउँदै सप्लाई नगर्ने प्रवृत्तिको विकास भएको छ । गत माघमा भएको ठेक्का अनुसार १२ महिनामा आधा मात्रा गाईभैँसीको दूध (डेरी)को खुवाउनुपर्ने र आधा होल मिल्क (पाउडर दूध) खुवाउनु पर्ने भए पनि ठेकेदार कम्पनी श्यामबाबा इन्टरप्राइजेजले होल मिल्क खुवाउन आनाकानी मात्र गरेको छैन, बजारमा पाइँदैन भनेर ल्याएकै छैन । जबकि नेपाल दुग्ध विकास संस्थानले पर्याप्त मात्रामा होल मिल्क उपलब्ध रहेको जनाएको छ । ठेकेदार कम्पनीले भने बजार मूल्य प्रतिकेजी एक हजार रुपैयाँ पर्ने पाउडर दूधलाई एक सय रुपैयाँ दर राखेर ‘टेन्डर विड’ गर्दा झन्डै ३ करोड रुपैयाँ कम दरमा ठेक्का हात पारेको थियो । 

नेपाली सेनाका एक अवकाशप्राप्त उच्च अधिकृतका अनुसार सेनाको रासन ठेक्कामा ठुलो अनियमितता हुने गरेको छ । ‘ठेकेदार र सम्बन्धित कार्यालय प्रमुखको मिलेमतोमा तोकिएको मापदण्ड र परिमाणभन्दा कम खाद्यान्न उपलब्ध हुने गरेको छ’, उनले भने , ‘हाकिम र ठेकेदार मिलेर सिपाहीको पेटमा लात्ती उज्याउने काम सेनामा परम्पराकै रूपमा चल्दै आएको छ ।’ उनले गुल्मपति, गणपति, वाहिनीपति, पृतनापति हुँदै सेनापतिसम्म रासनको कमिसन पुग्ने गरेको दाबीसमेत गरे । सामान्यतया नेपाली सेनामा सेनानीले गुल्म, प्रमुख सेनानीले गण, सहायक रथीले वाहिनी, उपरथीले पृतनाको ‘कमान्ड’ गर्ने चलन रहेको छ ।

नेपाली सेनाले गएको माघको रासन ठेक्कामा २२ वटा खाद्य सामग्रीहरू माग गरेको थियो (हेर्नुहोस् फोटोमा) । जसमध्ये खसीकोमासु, कुखुराको मासु, कुखुराको अण्डा, गाईभैँसीको दूध, पाउडर दूध, इनर्जी बिस्कुट, पनीर, च्याउ, फलफूल र स्पेसल दही सेनाका जवानलाई दैनिक आवश्यक पोषणयुक्त खानेकुरा हुन् । तर एकाध ‘आइटम’ छोडेर अधिकांश खानेकुरा कम दिने गरेको पाइएको छ ।

सैनिक जवानले खानुपर्ने महत्त्वपूर्ण पोषणयुक्त खानेकुरामा १५ देखि ८० प्रतिशतसम्म कटौती गरेको पाइएको छ । श्री दुर्गाबक्स गण नारायणहिटीमा ठेकेदार श्यामबाबा इन्टरप्राइजेज प्रालिले गत वैशाख महिनामा आपूर्ति गरेको सामानको विवरणमा अधिकांश स्केलभन्दा कम रहेको भेटिएको छ (हेर्नुहोस् फोटोमा) ।

आफूलाई चाहिने न्यूनतम पोषणयुक्त खानेकुरा नपाइदा आम सैनिक जवान नेतृत्वप्रति रुष्ट बन्दै आएका छन् भने सेनाको नेतृत्व आफ्ना सैनिक जवानको दैनिक पोषणयुक्त स्वास्थ्यकर खानेकुरालाई लिएर उदासीन देखिँदै आएको छ । सेनाका उच्च अधिकृतको कमिसन मोह र ठेकेदारको बदमासीको प्रत्यक्ष मारमा सैनिक जवान परेका छन् । मिलेमतोमा कम गुणस्तरका खाद्य सामग्री खुवाउँदा सेनाका जवानको स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्नेतर्फ संगठनको ध्यान गएको देखिँदैन । एक पोषण विज्ञका अनुसार सैनिक सेवामा शारीरिक सक्रियता बढी गर्नुपर्ने भएकोले समुचित ‘डाइट’ खान नपाउँदा सैनिक जवानहरू तन्दुरुस्त नरहन सक्छन् ।

नेपाली सेनाका एक अधिकृतका अनुसार कटौती गरिएको रासनबाट आउने कुल रकमको १० प्रतिशत ठेकेदारले लिने गरेको छ भने बाँकी ९० प्रतिशत रकम सम्बन्धित कार्यालय प्रमुख हुँदै सेनाको उच्च तहसम्म पुग्ने गरेको छ । “रासनबचाउनकै निम्ति धेरै कार्यालयका प्रमुखहरूले ‘आफ्नो निकट’लाई ‘क्वाटर मास्टर’ राख्ने गरेका छन्”, उनले भने ।

अहिले नेपाली सेनाको स्वीकृत रासन ठेक्का सम्झौताअनुसार महिनामा १५ दिन पाउडर दूध र १५ दिन गाईभैँसी (डेरी)को दूध खुवाउनु पर्छ । वा ६ महिना गाईभैँसीको दूध र ६ महिना पाउडर दूध खुवाउनु पर्छ । तर श्यामबाबा इन्टरपाइजेजका सञ्चालकहरूले भने त्यसको उल्लंघन गरिरहेका छन् । त्यो कम्पनीले रासन ठेक्का हत्याउन बजारमा प्रतिकिलो एक हजार रुपैयाँसम्म पर्ने पाउडर दूधको दर प्रति लिटर १ सय रुपैयाँ मात्रै उल्लेख गरी प्रतिस्पर्धा गरेको थियो । त्यस्तै देशभर होलसेलमा किन्दा औसतमा प्रतिलिटर ६०देखि ६५ रुपैयाँसम्म पर्ने गाईको दूधमा भने ८३ रुपैयाँ राखेर उल्लेख गरेका छन् । 

गत माघको रासन ठेक्का सम्झौताअनुसार नेपाली सेनाको उपत्यका पृतनालाई हेडक्वार्टरलाई चालु वर्षमा कुल ५६ लाख १० हजार १ सय ९६ छाक खुवाउनु पर्ने उल्लेख गरिएको छ । त्यसमा पाउडर दूध (होल मिल्क) प्रति छाक १५ ग्रामका दरले २८ लाख ५ हजार ९८ छाक खुवाउन कुल ४२ हजार ७६ केजी ४ सय ७० ग्राम आपूर्ति गर्नुपर्ने छ । त्यस्तै गाईभैँसीको दूध प्रति छाक १५० मिलिलिटरका दरले २८ लाख ५ हजार ९८ छाक खुवाउनै पर्छ । चालु वर्ष कुल ४२ हजार ७ सय ६४ लिटर ७ सय मिलिलिटर गाईभैँसीको दूध उपलब्ध गराउनु पर्नेछ ।

सम्झौता बमोजिम कम्पनीले पाउडर दूध खुवाए बापत ४२ लाख ७ हजार ६ सय ४७ रुपैयाँ भुक्तानी पाउँछ । तर गाईभैँसी (डेरी)को दूध खुवाउँदा ३ करोड ४९ लाख २३ हजार ४ सय ७० रुपैयाँ भुक्तानी पाउँछ । जबकि ठेक्का सम्झौताअनुसार होल मिल्क (पाउडर) खुवाए ३ करोड ७८ लाख ६८ हजार ८ सय २३ रुपैयाँ घाटा लाग्ने छ भने गाईभैँसीको दूधमात्रै आपूर्ति गरे १ करोड भन्दा बढी नाफा हुने देखिन्छ । अझ गाईभैँसीको दूधमा पानी मिसाउन सक्ने सम्भावना जीवित छ । यो अवस्थाले गर्दा अहिले ठेकेदार कम्पनी जालझेलतिर लागेको स्रोतले दाबी गरेको छ ।

पाउडर दूध उत्पादित प्याकेटमै लगेर दिनुपर्ने भएकाले मिसावट गर्न नसक्ने तर गाइभैँसीको दूधमा पानी मिसाउन सहज हुनेभएकोले पनि ठेकेदारले बढी मुनाफाका लागि चलखेल गरेको उपत्यका पृतना एक अधिकृतले बताए । उनका अनुसार सैनिक मुख्यालयले होल मिल्क खुवाउन सबै ठेकेदारलाई पत्राचार गरिसकेको अवस्थामा पनि श्यामबाबाले भने सम्झौता उल्लंघन गरेको छ । तत्कालीन पृतनापतिसँगको सल्लाहमा श्यामबाबाले बदनियतपूर्ण ढंगले ठेक्का हात पारेको अनुमान गर्न कुनै संकोच छैन । अहिले ठेकेदारहरू अग्रवाल, अधिकारी र ढुंगेल आफू अनुकूल निर्णय गराउन विभिन्न शक्तिकेन्द्रदेखि जंगीअड्डासम्म ‘लविङ’ गरिरहेका छन् ।

कोरोना संक्रमण र बन्दाबन्दीको कारण देखाएर ठेक्का सम्झौतामा उल्लेख भएको ‘ठेकेदार र खरिद पक्षबीच कुनै विवाद मध्यस्थताको माध्यमबाट समाधान खोज्ने’ भन्ने बुँदालाई टेकेर ठेकेदार र सम्बन्धित कार्यालय प्रमुखको मिलेमतोमा अहिलेसम्म होल मिल्क नखुवाएको स्रोतको दाबी छ । सम्झौताको १३.१ नं बुँदामा विवाद उत्पन्न भएमा वा कुनै सामान दिन नसक्ने भए जानकारी दिएर विवाद समाधान गर्न सकिने भन्ने बुँदाको दुरुपयोग गरी उपत्यका पृतना कार्यालयका प्रमुख र ठेकेदारको ‘साँठगाँठ’ले होल मिल्कमा आर्थिक अनियमितताको आशंका जन्माएको छ ।

नियमअनुसार सेनाको स्वीकृत रासन स्केलभन्दा फरक सप्लाई खरिद बिलको भुक्तानी दिन मिल्दैन भने ठेकेदार कम्पनीले बजार मूल्यभन्दा कम दरको विल काट्न समस्या पर्छ । आन्तरिक राजश्व कार्यालयका अनुसार ठुलो परिमाणमा खरिद दरभन्दा विक्री दर कम गरी कारोबार गरे कर छलीमा कारबाही हुन्छ । कारोबारको परिमाण र प्रकृति हेरेर कालो सुचीमा राख्ने, जरिवाना र जेल सजायसमेत हुनसक्छ । व्ययभार र कानुनी झन्झटलाई पार लाउन ठेकेदार, पृतनापति र लेखा शाखाको गठजोडमा बुँदा नं १३.१ लाई दुरूपयोग गरी आर्थिक हिनामिनाको प्रयास भएको बुझिन्छ । ‘विवाद समाधानको नाममा प्रयोग गर्ने बुँदा हो १३.१ !, जसले आर्थिक अनियमितताका लागि दुवै पक्षलाई सहयोग गर्छ’, जंगी अड्डा स्रोतले भन्यो । अहिले उपत्यका पृतना कार्यालयका प्रमुख उपरथी आनन्द अधिकारी छन् । ठेक्का सम्झौता हुँदा उपरथी निरञ्जन श्रेष्ठ प्रमुख थिए । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने नेपाली सेनासँग गरिएको रासन ठेक्का सम्झौता अनुसार खाद्यान्न आपूर्ति गर्न गराउन सम्बन्धी कार्यालय र ठेकेदार कम्पनीलाई निर्देशन दिइसकिएको बताए । उनका अनुसार सम्झौताभन्दा बढी कुनै पनि शीर्षकमा भुक्तानी दिन मिल्दैन । आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षकले समेत प्रश्न उठाएमा जवाफ दिन नसकिने भएकाले सम्झौताभन्दा बाहिर गएर सामान लिन र फर्छ्यौट नगर्न निर्देशन दिइसकेको उनले जनाए ।

‘कोरोनासंक्रमण र बन्दाबन्दीअघि पनि ठेकेदार कम्पनीले होल मिल्क खुवाएको देखिएन । त्यसकारण ठेक्का सम्झौता अक्षरस पालना गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ भने सम्बन्धित कार्यालयलाई पनि त्यही अनुसारको पत्राचार र जानकारी भइसकेको छ’, सहायक रथी एवं प्रवक्ता पाण्डेले भने ।

२२ महिनाअघि पूर्णचन्द्र थापा प्रधानसेनापति नियुक्त हुनेबित्तिकै आफ्नो कार्यकालमा नेपाली सेनामा व्यापक शुद्धीकरण गर्ने उद्घोष गरेका थिए । नेपाली सेनामा उनी आशा गरिएका प्रमुख हुन् । उनी प्रधानसेनापति भएपछि धेरै सकारात्मक कामकारबाही पनि भएका छन् । थापाले अनियमितता र संगठनको काम, कर्तव्य र हित विपरीत चल्ने अधिकृतहरूलाई कारवाहीको दायरामा ल्याएका छन् । तर पछिल्लो समय उनले आफूलाई मन नपरेका अधिकृतविरुद्ध छानाछानी कारबाहीको डण्डा चलाएको आरोप पनि लाग्न थालेको छ । थापाकै कार्यकालमा श्यामबाबा इन्टरप्राइजेजहरूले रासन ठेक्कामा ढुक्कसाथ गम्भीर बदमासी गरिरहेका छन् । प्रधानसेनापतिको ३ बर्से कार्यकाललाई सहजै व्याख्या गर्ने नेपाली सेना बृतमा एउटा चर्चित व्यङ्ग्यात्मक उक्ति छ : गरम, नरम ,बेसरम ! प्रधानसेनापति थापाको कार्यकालले भने यो उक्तिलाई गलत साबित गर्ने आशा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि