बैशाख २३, २०८१, आइतबार
               

लकडाउन खुकुलो भयो तर पुतलीसडक अझै बनेन

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो भएर सडकमा सवारी साधन धेरै गुड्न थालिसकेका छन् । तर लकडाउनमा निर्माण थालिएको केही ठाउँ भताभुङ्ग नै छ । जसका कारण यात्रुहरूले सास्ती बेहोर्नु परेको छ । स्थानीयवासी भने दैनिक उड्ने धुलाेका कारण आजित छन् । अझ अब वर्षायाम सुरु हुनै लागेकाले हिलोको दलदलको सामना गर्नुपर्ने अवस्था आउने जोखिम छ । 

केही सातायता पुतलीसडकमा सडक निर्माणका काम भइरहेको थियो । तर, निर्माण सामाग्री ल्याउने काभ्रेलगायतका ठाउँका बासिन्दाले अवरोध गरेपछि काम रोकिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्थानीय तहले अवरोध गरेपछि निर्माण अवरुद्ध भएको छ । जसको सास्ती बटुवा तथा सवारीचालकहरूले पाएका छन् ।

काठमाडौंको मध्यक्षेत्र पुतलीसडकमा लकडाउनको मौका पारेर ढल बनाउने, तथा पानीको पाइप विच्छाउने काम भइरहेको थियो । पुतलीसडक पुरै क्षेत्रको सडक भत्काएर काम भइरहे पनि अहिले रोकिएको छ । सडक विभागका अनुसार निर्माणका लागि चाहिने ढुङ्गा, माटो, रोडा र बालुवा अभाव भएपछि काम रोकिएको हो । उपत्यकामा सडक निर्माणका लागि काभ्रेका रोसी, इन्द्रावती र दोलालघाटबाट क्षेत्रबाट निर्माण सामग्री ल्याइने गरिएको छ । 

विभागका प्रवक्ता शिवहरि सापकोटाले ती ठाउँका बासिन्दाले अवरोध गरेकै कारण सामग्री अभावले निर्माणाधीन सडकका काम प्रभावित बनेको बताए । ‘लकडाउनको उपयोग गर्दै हामीले पुतलीसडक र चाबहिल–गौशाला सडकको काम तुरुन्तै अघि बढाउने योजना बनायौँ । पुतलीसडकमा त ह्युमपाइप हालिसकिएको छ,’ सापकोटाले भने, ‘तर, निर्माण सामग्री ल्याइने गाउँका स्थानीय तहले रोकिदिए । हाम्रा सबै काम प्रभावित भएका छन् ।’ 

पुतलीसडक र चाबहिल सडक यो अवधिमा बनाउन सकिएन भने अरू वेला सम्भव नै छैन । वर्खामा यी सडकको अवस्था भद्रगोल हुने निश्चित छ । त्यसैले यो अवधिलाई उपयोग गर्न खोज्दा काभ्रेलगायतका विभिन्न क्षेत्रका स्थानीय तहले निर्माण सामग्री ल्याउनै नदिएको विभागको गुनासो छ ।

कालोपत्रे र रोड मार्किङ भने जारी 
विभागका अनुसार कालोपत्रे र रोड मार्किङ भने निरन्तर चलिरहेको छ । लकडाउनको अवधिमा तीनकुने, दरबारमार्ग, सिंहदरबार, पद्मोदय मोड, त्रिपुरेश्वरलगायत क्षेत्र कालोपत्रे भइसकेका छन् । पुरानो कालोपत्रेलाई नै स्तरोन्नति गरिएको विभागको भनाइ छ । कालोपत्रेसँगै हुने रोड मार्किङ पनि नरोकिने विभागका प्रवक्ता सापकोटाले बताए । 


कस्तो लाग्यो ?

यो पनि