कुवेतबाट बुधवार आममाफीमा सहभागी ३ सय महिला बुधवार स्वदेश फर्कने लागेका छन् । आममाफीमा सहभागी भएका महिलालाई दुई वटा जहाजमार्फत कुवेत सरकारले नै नेपाल ल्याइदिन लागेको हो । ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइपुर्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
कुवेतबाट जजिरा एअरवेजले नेपालीहरूलाई लिएर आउने छ । तर समय भने टुङ्गो लाग्न बाँकी छ । कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातविहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत नेपाल ल्याइदिन लागेको हो ।
नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरूको कोरोना जाँच पनि आफैँले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झन्डै तीन हजार नेपाली सहभागी भएका छन् । उनीहरू कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई ल्याइदिन तयार थियो ।