असोज ०६, २०८१, आइतबार
               

नागरिकद्वारा लकडाउनको भद्र अवज्ञा, सरकार भने खुकुलो बनाउने तयारीमै

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

सरकारले औपचारिक रूपमा लकडाउन अन्त्य भएको घोषणा नगरे पनि लकडाउन खुकुलो भएको  छ ।  कोरोनाको संक्रमणदर तीव्र गतिमा बढ्दै जाँदा थप सजगता अपनाउनुपर्ने भए पनि उल्टो लकडाउन खुकुलो भएको हो ।

जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको अवधि तोकिएको छ । त्यसपछि लकडाउनको मोडालिटी बनाउन भन्दै दैनिक बैठकहरू भइरहेका छन् । यसरी सरकार लकडाउनलाई कसरी खुकुलो पार्ने भन्नेबारे सोचिरहेको अवस्थामा आम नागरिक भने स्वतःस्फूर्त लकडाउन भद्र अवज्ञा गरिरहेका छन् ।

आइतबादेखि निजी सवारी साधन गुड्न थालिसकेका छन् । बिहानको समयमा पसल, रेस्टुरेन्ट र व्यवसायहरू खुल्न थालिसकेका छन् । आइतबार, सोमबार जस्तै मङ्गलवार पनि देशका मुख्य सहरमा लकडाउनको अनुभूत खासै देखिएको छैन ।

लकडाउनबारे सरकारी निर्देशन उल्लघंन गर्ने क्रम जारी छ । कतिपय ठाउँमा प्रहरीले सवारी साधन रोक्ने र पसल बन्द गर्न खोजे पनि अवज्ञाकर्ताले मानेका छैनन् । सडकमा सवारी साधन मात्रै हैन, पैदल हिँड्ने मानिसहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । 

मध्यान्न  १२ बजेसम्म बजारमा भिडभाड देखिन थालिसकेको छ । बजार पसल खुलेको दृश्य र मानिसको भिडभाड हेर्दा लकडाउन हटिसकेको जस्तो देखिन्छ । धेरैजसो व्यापारिक क्षेत्रहरूमा  सामाजिक दुरी पालना भइरहेको देखिँदैन । बाहिर हिँडडुल गर्ने अधिकांशले सतर्कता अपनाएका देखिन्छ भने कतिपय मानिसहरू मास्क नलगाई बजार डुलिरहेका देखिन्छन् । 

लकडाउन जारी रहेकै समयमापनि देशभर अधिकांश साना व्यवसायहरू सञ्चालनमा आएका छन् । गाउँ गएका मानिसहरू फर्कन नपाएर केही व्यवसाय चल्न पाएका छैनन् ।

काठमाडौँ उपत्यकाको प्राय सबै क्षेत्रमा लकडाउनको अवज्ञा स्व स्फूर्त रूपमा हुन थालेको सरकारी अधिकारीहरुनै बताउँछन् । सिनेमा घर, सैलुन, जिम खानाबाहेक अरू प्रकारका व्यवसाय सुरु भएको छ । मालपोत लगायतका सरकारी कार्यालय पनि खुलेका छन् । सार्वजनिक गाडी र शिक्षण संस्थाबाहेक अरू क्षेत्रमा लकडाउन भएजस्तै लाग्दैन । नागरिकद्वारा लकडाउन खुकुलो बनाइसकिएको छ, उता सरकार भने लकडाउन खुकुलो बनाउने तयारीमै व्यस्त छ ।

सडकमा बढ्यो चाप

उपत्यकामा सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सवारी साधन कति सडकमा निस्किए भन्ने तथ्यांकन भए पनि आइतबारबाट सडकमा तुलनात्मक रूपमा सवारी साधन बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको  छ ।

सरकारले कृषिजन्य उत्पादन, बैङ्क तथा वित्तीय संस्था, निर्माण र उद्योगका कच्चा पदार्थलगायतका अत्यावश्यक सेवा खोल्न दिन गरेको निर्णयका कारणले पनि सवारी चाप बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

‘अत्यावश्यक कामका लागी लकडाउनमा पनि सवारी चल्न दिइएको थियो, अहिले अनावश्यक कामका लागि हिड्नेहरु धेरै भएका छन्, लकडाउन उल्लङ्घन गरेका कारण होल्डमा धेरै सवारी राखिएको छ, यसैले सवारी साधनको सङ्ख्या बढेको जस्तो पनि देखिएको  छ,’ महाशाखा प्रमुख भीम ढकालले भने ।

लकडाउनको सुरुका दिनदेखि नै काठमाडौंका मुख्य चारसहित अरू नाकामा कडाइ छ । तर नागढुंगासहित अरू नाकाबाट दैनिक पाँच हजार जनाको हाराहारीमा मानिस भित्रने गरेका छन् भने दुई हजारको हाराहारीमा गाडी । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो एक हप्ता यता गाडी र यात्रुको ओहोरदोहोर बढेको जनाएको  छ । 

लकडाउन खुकुलो छैन: गृह मन्त्रालय

नागरिकले धमाधम लकडाउनको भद्र अवज्ञा गर्ने क्रम बढे पनि गृह मन्त्रालयले यसबारे अनविज्ञ रहेको प्रतिक्रिया दिएको छ । मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अत्यावश्यक सेवा सञ्चालन भएको र केही अरू क्षेत्र समेत खुलाइएकोले चाप बढेको बताए ।

उनले भने ‘आर्थिक गतिविधि सुरु भएका छन्, उद्योग कलकारखाना खुलेका छन्, खाद्यान्नका गाडी भित्रिएका छन्, सरकारी कार्यालय खुलेका छन् । यस्तो बेला केही चहलपहल र गाडीको सङ्ख्या बढ्नु स्वाभाविक नै हो ।’ सरकारले असार महिनादेखि भने लकडाउनको मोडालिटी फेर्दै खुकुलो बनाउने तयारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि