जेठ ०४, २०८१, शुक्रबार
               

विकास निर्माण योजनाको अनुगमन

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

चितवन । चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घ र प्रदेशबाट विनियोजन भएका योजनाको एक सातादेखि अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत बद्रीनाथ सापकोटाले जानकारी दिए। 

'सबै स्थानीय तहमा अनुगमन गरेका छौँ', उनले भने, 'बन्दाबन्दीको समयमा पनि धमाधम काम भइरहेको छ।' उनले काम शुरु नभएका योजनाको काम शुरु गर्न र निर्माणमा भइरहेका योजनामा देखिएको बाधा व्यवधान हटाउन पहल गरिएको बताए। उनले असारको पहिलो र तेस्रो हप्तामा पनि अनुगमन गरिने जानकारी दिए।

अनुगमनमा प्रदेशसभा सदस्यको सहभागिता थियो । ५० लाखमाथिका योजना बोलपत्र र अन्य उपभोक्ता समितिमार्फत काम भइरहेको छ । 'सबै योजनामा काम भइरहेका छन्,आम नागरिकले पनि निकै चासोका साथ योजनाको निगरानी गरिरहेका छन्', प्रदेशसभा सदस्य विजय सुवेदीले भने।

आफ्नो क्षेत्रका योजनाको निरन्तर अनुगमन गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै आइरहेको उनले बताए । बन्दाबन्दीले परिस्थिति प्रतिकूल भए पनि विकास निर्माण नरोक्न निर्देशन दिइएको उनले जानकारी दिए ।

अनुगमन गरिएको योजनाको काम धमाधम भइरहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए। उनले बजेटको दुरुपयोग हुन नदिन चनाखो भएर काम गरिरहेको दाबी गरेका थिए ।

खैरहनी, रत्ननगर, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटी तथा भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा जिससका उपप्रमुख मुनाकुमारी श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि