भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालय पुनर्निर्माण गरिदिने भएको छ । भारतले नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्न लागेको हो ।
भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यससम्बन्धी ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनर्निर्माण गरिनेछ ।
भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनर्निर्माण हुनेछन् । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनर्निर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।