असोज ०६, २०८१, आइतबार
               

लकडाउन खुकुलो, मानिस हिँड्न थाले, निजी सवारी चल्न थाले

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । लकडाउनको ७७ दिन आइपुग्दा सर्वसाधारण स्वतःस्फूर्त रूपमा घरबाहिर निस्कन थालेका छन् । अघिल्ला दिनहरूको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन् ।

सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सडकमा सवारी साधन धेरै मात्रामा चलेको छ । सर्वसाधारण स्वतःस्फूर्त काममा निस्कन थालेका हुन् । सोमबारबाट काठमाडौँका सडकमा सवारी साधनको बाक्लो चाप छ । सार्वजनिक भाडाका सवारी साधन धेरै नचले पनि निजी गाडीहरू प्रशस्त चलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् । अधिकांश पसलहरू खुलेका छन् । जसले गर्दा सडकमा लकडाउन खुलेको जस्तै देखिएको छ ।

धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन् । दुई महिनाभन्दा बढी समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ । तर अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन । जेठ २२ गते  बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएको थियो । 

तर उच्चस्तरीय समितिले लकडाउनको खुकुलो मोडल प्रस्तुत गर्न सकेन । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौंलगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भएको देखिन्छ ।

यसअघि उच्चस्तरीय समितिले आईतबारबाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ गतेदेखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार पारेको थियो । असार १७ गतेदेखि शैक्षिक संस्थाहरू खोल्ने उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको थियो । तर, प्रस्ताव कार्यान्वयनमा आउन सकेन । 


कस्तो लाग्यो ?

यो पनि