असोज ०६, २०८१, आइतबार
               

सीमा विवादबारे भारतले चीनसँग वार्ता गर्‍याे, तर नेपाललाई बेवास्ता

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभागलाई मिचेको भारतले कोरोना भाइरस महामारी अन्त्यपछि वार्ता गर्न सकिने बताएको छ। नेपालले सीमा विवादका बारेमा वार्ताका लागि पटक पटक प्रस्ताव गरे पनि भारतले ‘कोरोना भाइरस कोभिड–१९’ को महामारी सकिएपछि मात्र छलफल गर्ने जवाफ दिएको छ । तर, सीमा विवाद कायमै रहेको अर्को छिमेकी चीनसँग भने भारतले वार्ता सुरु गरेको छ । नेपालसँग वार्ता नगर्ने तर चीनसँग वार्ता सुरु गरेको भारतको नियतले नेपालसँगको विवाद नसुल्झाउने  संकेत गर्छ । 

पछिल्लो समय नेपाल-भारतबीच राजनीतिक तहमा संवादहीनताको अवस्था छ । दुई देशबीच सीमा विवाद चुलिएपछि भारतले नेपालसँग संवादहिनतालाई बढवा दिँदै मानसिक दबाब थोपर्ने प्रयास गरेको कूटनीतिक विज्ञको भनाइ छ ।

नेपालले पटक-पटक वार्ताक लागि प्रस्ताव गर्दा कोरोनापछि भनेर टार्ने भारतले चीनसँग भने वार्ता सुरु गर्नु रहस्यमय भएको जानकारहरू बताउँछन् । उनीहरू भन्छन् ‘पछिल्ला घटनाक्रमले भारतले नेपालसँगको सीमा विवादलाई ‘समाधान गर्नुपर्ने विषय’का रूपमा नलिएको त होइन भन्ने आशङ्का बढ्न थालेको छ ।

भारतले कोरोना कहरकै बीच चीनसँग सीमा मुद्दामा वार्ता गरेको छ । पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखामा जारी विवाद समाधानका लागि भारतले चीनसँग सैनिक तहमा कोरोना कहरमै वार्ता गरेको भारतीय विदेश मनत्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले शनिबार भएको वार्ता सीमा समस्या समाधान केन्द्रित हुनका साथै निकै ‘सकारात्मक’ भएको बताएको छ । त्यसो त चीनसँग सीमा मुद्दामा तत्काल वार्तामा बसेर सहमति निकाल्नु भारतका लागि बाध्यात्मक भइसकेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार केही सातादेखि सो क्षेत्रमा भारत र चीनका सेनाबीच तनाव बढेको थियो ।

सीमा विवादकै सन्दर्भमा भने भारतले वार्ता गर्न मिल्ने, तर नेपालसँग भने कोभिड–१९ को प्रकोप सकिएपछि मात्र वार्ता गर्ने भन्नुको अर्थ वार्ताप्रति भारतले इच्छा नराखेको र आवश्यकता नै महसुस नगरेको प्रष्ट हुन्छ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजाल पनि यस्तै आशय प्रकट गर्दछन् । उनले फेसबुकमा लेखेका छन्, ‘भारत–चीनका सैनिक कमान्डरबीच सीमा विवादबारे भेटेरै वार्ता भएको छ । भारत र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भर्चुअल समिट भई सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । त्यही भारतलाई छिमेकको नेपालसँग वार्ता गर्नचाहिँ कोभिड सकिनुपर्ने अनि नेपालले वातावरण बनाउनुपर्ने ?’


कस्तो लाग्यो ?

यो पनि