‘काउली, आलु, प्याज, गोलभेँडा’
एकाबिहानै साइकलमा तरकारी बोकेर गल्ली गल्लीमा पुग्ने सत्यराम मेहता यसै गरी चिच्याउँछन् । उनले घरको आँगनमै तरकारी पुर्याउँछन् । घरको कौसी वा बरन्डाबाटै मानिसहरू चिच्याउँछन् ‘ए ! भइया आलु कसरी हो ? ’
तलबाट सत्यराम जवाफ फर्काउँछन् ‘आउनुहोस् मिलाएर दिन्छु ।’
छानाछानी आफ्नो घरअगाडि तरकारी, फलफूल किन्न पाएपछि क्रेतालाई पनि हाइसन्चो भइरहेको छ। सत्यराम मेहताले यसरी काठमाडौंमा तरकारी बेच्न थालेको २७ वर्ष भयो । त्यो पनि हाँडीगाउँ, विशालनगर क्षेत्रमै । भारतको विहारबाट उनी २०५० सालमा काठमाडौं आए । कतै काम पाइएला कि भनेर धेरै भौँतारिए । तर, रोजगारी पाएनन् । चार सय रुपैयाँ बोकेर काठमाडौं आएका उनी हाडीगाउँकै एक पाटीमा रात बिताउँथे । दिनभर ज्याला मजदुरी कतै पाइन्छ कि भनेर खोज्न जान्थे । तर, कतै भेटेनन् ।
केही व्यवसाय गरौँ कतै चिनेको थिएन । पैसा पनि थिएन । घरमा बुढी आमा, पत्नी र छोराछोरीलाई हेरविचार गर्नुपर्ने उनको दायित्व थियो । कतै काम नपाएपछि, परिवारको पेट कसरी पाल्ने उनलाई चिन्ताले सतायो । उनलाई निद्रा पर्न छाड्यो । ओसिलो र साँघुरो पाटीमा थाकेको ज्यान बिसाउँथे । तर जीवनको लक्ष्य के गर्ने कसो गर्ने, परिवार कसरी पाल्ने भन्नेमा उनको चिन्ता हुन्थ्यो ।
जम्मा खल्तीमा २ सय रुपैयाँ बचेको थियो । उनले सोचे यसैले केही गरौँ । कसैले उनलाई सल्लाह दियो, ‘साइकलमा तरकारी बेच्ने ।’ बजारमा नयाँ साइकलको मोल पाँच सय थियो । सत्यरामले कवाडीबाट दुई सय रुपैयाँमा साइकल उठाए । तर, साइकलको चेन थिएन । एकवटा टायर पन्चर थियो, ब्रेक पनि थिए । चिनेको एक साइकल मर्मत पसलमा कवाडी साइलक डोर्याउँदै लगे । सय रुपैयाँ खर्च गरेपछि चढेर गुडाउन मिल्ने भयो ।
खुसी, कति सानो कुरामा पनि मिल्ने चिज रहेछ । साइकल गुड्न मिल्ने बनाएपछि अब तरकारी बेच्छु भन्नेमा उत्साहित भए । तर, तरकारी किन्न पनि उनीससँग पैसा थिएन । पैसाबिनै उनी भोलिपल्ट बिहानै कालीमाटी तरकारी लिन गए । एकजना व्यापारीलाई आफ्नो कहानी सुनाए । दिनभर तरकारी बेचेर पैसा साँझ बुझाउन ल्याइदिने सर्तमा ५० रुपैयाँको तरकारी दिए । केही ढक आलु, काउली, गोलभेँडालगायत सत्यरामले पाए ।
साइकलको पाङ्ग्राजस्तै जीवन
तरकारी पाएपछि उनी घरघरमा तरकारी बेच्न लगे । ‘आरे हजुर सस्तो सस्तो सब्जी, लिने हो हजुर ?’ उनी दिनभर तरकारी बेच्न थाले, साँझ उही साहूकोमा पैसा बुझाउँथे । बिस्तारै साहूले पनि धेरै परिमाणमा तरकारी पठाउन थाले । दिनभर तरकारी बेच्दा उनलाई चालिस–पचास रुपैयाँसम्म नाफा हुन्थ्यो । केही काम नहुँदा उनको मनमा के–के कुरा खेल्थ्यो, रातभर निन्द्रा पर्दैनथ्यो । जब उनी साइकल किनेर आफ्नै व्यापार गर्न थाले । उनी फुरुङ्ग थिए । दंगदास थिए ।
यसैगरी, उनले काठमाडौंको कठ्याङ्ग्रिने हिउँद गुजारे, कति, कति । गर्मीयाममा पसिना चुहाउँदै डुले कति कति । कवाडीबाट उठाएर ल्याएको साइकलसँग उनको अनौठो दोस्ती भइदियो । उनले आफ्नी पत्नीसँग त्यति समय गुजारेकी छैनन्, जति साइकलसँग । पहिलो साइकल उनले झडै पाँच वर्ष बढी चलाए । झन्डै तीन दशक पुग्न लाग्दा उनी पाँचवटा साइकल फेरिसकेकाे बताउँछन् ।
साइकलमा तरकारी बेच्न थालेपछि उनी पाटीबाट डेरा सरे । साथीहरूले कोठा भाडा लिएका रहेछन्, हाडीगाउँकै एक घरमा । इँटा र काठले बनाइएको पुरानो घर थियो । कोठा सानो थियो । ओसिलो थियो । अँध्यारो थियो । बस्नेचाहिँ चारजना । राति साथीहरूले पकाएको रोटी खाएर सुत्थे । बिहान तरकारी लिन जान सबेरै उठ्नुपर्थ्यो। उनको दैनिकी आजसम्म यसैगरी चलिरहेको, साइकलको पाङ्ग्राजस्तै । जति घुमे पनि, पुग्ने कहाँ हो र ? एउटै परिधिमा फन्को लगाइरहेका छन् हाँडडीगाउँ विशालनगरमै ।
‘भइया’को जन्जिरमा बाँधिँदा
तरकारी बेचेर खान पाउन उनलाई सहज छैन । त्यसमाथि पनि उनी ‘भैया’ । भेले, धोती, समस्या, मदिसे आदि नामले उनलाई बोलाउँछन् । उनी मात्र होइन मधेसी मुलकालाई पहाडी समुदायमा यही भन्छन् । सम्बोधन गरिने शब्दमा न आदर छ न स्नेह । ज्येष्ठ नागरिकदेखि बालकसम्मले ठाडै भनिदिन्छन्, ‘ओ भैया ।’ गृहिणी देखि सात–आठ बर्षसम्मकाले उनलाई भन्छन् ‘ओ भैया, यता आऊ तरकारी के छ हँ ?’
उनले दैनीक मानिसहरूलाई घरघरमै गएर तरकारी पुर्याए, सेवा गरिरहे । बदलामा उनले २ पैसा बाहेक केही पाएनन् । कसैले उनले कहिल्यै सम्मान पाएनन् । सधैँ अपहेलित मात्रै भइरहेका छन् । ‘भैया’ हिन्दी भाषामा दाइ वा भाइ जनाउने शब्द नै हुन् । तर, शब्दार्थ जुन हिसाबले हुन्छ, हामीकहाँ मजदुरी गर्ने मधेसी मूलका व्यक्तिलाई फरक आशयले नै ‘भैया’ सम्बोधन गरिन्छ । यो भौतिक कुरा होइन, भावनाको कुरा हो । भैया शब्दले सही अर्थ दिए पनि त्यसको प्रयोग र प्रयोजन भने हेपाहा शैलीको गरिन्छ ।
एक पटक हो र ? पटक–पटक भोग्दै आएका उनले दोस्रो दर्जाका नागरिकको जीवन । फलफूल तरकारी घरघरमै पुर्याउनुपर्ने, अपमान र हप्काई–दप्काई पनि खानुपर्ने । सत्यराम भन्छन् ‘आत्मसम्मान सबैको हुन्छ, भैयाको पनि मन हुन्छ, तर मानिसको कुरै छाडौँ, गल्लीको कुकुरले पनि हेप्छन्, गरिब भैया भएर बाँच गाह्रो छ ।’ अरूको पेसाको सम्मान गर्ने भावना नरहेसम्म नेपाली समाजमा ‘भैया’हरुले हेपाई सहिरहनुपर्ने उनको धारणा छ ।
भाउ बढे पनि नाफा बढेन
सत्यरामको जीवन २७ वर्षदेखि तरकारीसंगै साइकलमै गुडिरहेको छ । गोलभेँडा, लौका, बोडी, करेला, फर्सी, घिरौँला, भिँडी, कटहर, धानियालगायत सिजनअनुसारका तरकारी उनको साइकलमा देख्न सकिन्छ । दैनिक खर्च कटाएर सात सय देखि एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । उनी बिहान धुम्बाराही तरकारी बजारबाट होलसेलमा तरकारी ल्याउँछन् । अनि साँझसम्म हाडीगाउँ बिशालनगर वरिपरि तरकारी बेच्छन् ।
लकडाउनका कारण ठेला र साइकलमा सामान बेच्नेहरू बढी प्रभावित भएका छन् । बन्दाबन्दी सुरु भएपछि अरू व्यापारीले समेत तरकारी बेच्न थालेका छन् । यसरी सडकमा व्यापार गरेर दैनिकी चलाउनेको समेत व्यापार कम भएको छ । उनी भन्छन् ‘अहिले खाद्यन्न तरकारी पसल मात्र खोल्न मिल्ने भएकाले, अरूले समेत तरकारी बेच्न लागेका छन्, यसले गर्दा सानो लगानीबाट दैनिक आम्दानी गरेर खानुपर्ने हामीहरूलाई समस्या परेको छ।’
तरकारीको भाउ बढे पनि नाफा भने नबढेको उनको गुनासो छ। उनी भन्छन्, ‘किन्ने ठाउँमै भाउ बढेपछि हामीलाई फाइदा छैन, हामीलाई भने दुख मात्र बढेको छ, मुठाको २० रुपैयाँको साग बेच्दा पाँच रुपैयाँ नाफा हुन्छ।’
चुलो बाल्न काठमाडौँ
उनले भारत विहारमा धेरै पढ्न पाएनन् । घरको समस्याका कारण सानैमा पढाइ छुट्यो । उनी काठमाडाैं आउँदा उमेर कति थियो ? उनीसँग ठ्याक्कै हिसाबकिताब छैन । तर, जतिबेला उनले घर छाडेर नाइट बसमा चढी काठमाडौँ आएको याद छ। ‘सानैमा पढाइ छाडे, घरको समस्याको कारण कमाउन भनेर यहाँ आएको थिए,’ हाडीगाउँमा तरकारी बेच्दै गरेका सत्यरामले साइकलको भार आफ्नो कम्मरमा अड्याउँदै भने ।
रोगका कारणले बुबा बिते, उनी सानै थिए । आमा, र भाइहरू घरमा थिए । उनको बिहे पनि सानैमा गरिदिए । सबैलाई खुवाउने–पिलाउने जिम्मा उनीमाथि आइलाग्यो । खेतीपाती गरौँ, जग्गा जमिन थिएन । चौपाया थिएन । उद्यम थिएन । आयआर्जनको स्रोत थिएन, केही पनि । अब गर्ने के त ? यही सोच्दा सोच्दै उनी वीरगन्ज आए । त्यहाँबाट नाइट बस चढेर काठमाडौँ आएका सुनाउँछन् ।