विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्ने चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो।
जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो।
आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो। सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुमहरू क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए।
जसमा ४ तारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन्। काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपाल लाइभसँग बताए।
सरकारलाई बुझाउन ‘समन्वय देखिएको छैन,’ उनले भने, ‘समुदायबाट विरोध हुने अवस्था आएको छ। त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।’
टोलटोलमा होटल भएको ठाउँमा बाहिरबाट आएका मानिसलाई वडा कार्यालयको स्वीकृत नलिइकन नराख्न भन्दै सूचना जारी भएको छ। तर, यसमा सरकारले कुनै समन्वय नगरेको शाह बताउँछन्।
त्यसमा पनि कहिलेबाट कति आउने हो भन्ने विवरण पनि नपाएको उनको भनाइ छ।
‘पहिलो चरणमा नगरकोट, धुलिखेल पोखराका होटलमा राख्ने कुरा थियो,’ उनले भने, ‘तर, काठमाडौंकै होटलको सूचना प्रकाशन भएछ।’ सरकारले समन्वय नै नगरेका कारण राती १२ बजे फोन आयो भने कसरी व्यवस्थापन गर्ने शाहको तर्क छ। काठमाडौं बाहेक एउटा पोखरा र एउटा रुपन्देहीको होटलको नाम सूचीमा रहेको छ।
कति लाग्छ रकम
चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएको रुमका लागि प्रति बेड ५ हजार ५०० रुपैयाँ तोकेका छन्। यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहेनका लागि प्रतिव्यक्ति ३ हजार ५०० निर्धारण भएको हानले जनाएको छ।
यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ तय भएको छ। यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ।
एकतारेका हकमा भने एक्लै बस्न चाहेनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ छ। साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।