बैशाख २३, २०८१, आइतबार
               

धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

धान भित्र्याउने समयमा समस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका किसानले लगाएको हर्दिनाथ १ धानको जातमा नेकब्लास्ट (घाँटी मरुवा रोग) देखिएको हो ।

खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रमा सो रोगले धानलाई सखाप पारेको छ । गतवर्ष पनि जो जातका बीउका कारण क्षति व्यहोरेका किसानले फेरि पनि उस्तै समस्या भोगेका हुन् ।

गतवर्ष पनि सो जातको धानमा सो रोग देखिएको खैरहनीका किसान रामनाथ चौधरीले बताए । “गतवर्ष केही मात्रामा समस्या थियो, उत्पादन राम्रो भएकाले यसवर्ष पनि यही धान लगाएका हौँ, उनले भने, तर सबै रोगले सखाप पार्‍यो ।”

किसानको गुनासोपछि प्रभावित क्षेत्रमा कृषि प्राविधिकले स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले स्थलगत रुपमा हेर्दा करिब ५० प्रतिशतमा रोगको प्रकोप देखिएको बताए। “यो चैतेधानमै लाग्ने रोग हो, बाला लाग्ने समयमा रोग पत्ता लागेको भए नियन्त्रण सम्भव थियो, अव समाधान छैन, उनले भने ।

हर्दिनाथ १ स्थानीय जातको बीउ हो । उनले बीउ पदस्थापनको विकल्प नरहेको बताए । धान यो समयसम्म पाकिसक्नुपर्ने भए पनि यसवर्ष धेरै पानी परेका कारण तापक्रम नमिलेर ढिलो पाकेको उनले बताए । उनले बुधबारमात्रै खैरहनी र राप्तीका विभिन्न वडामा स्थलगत अवलोकन जानकारी दिए ।

कृषि ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षत्रीले धान पहेँलो भइसके पनि खोस्टामात्रै रहेको बताइन् । पूर्वी चितवनको राप्ती, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाका यो समस्या रहेको उनले जानकारी दिइन् ।

“गतवर्ष नै समस्या देखिएपछि यो धान नलगाउन हामीले किसानलाई सुझाव दिएका थियौँ, उनले भनिन्, राम्रो फलेका कारण किसानले यही धान लगाए ।” किसानलाई हामीले सल्लाह सुझाव दिएका छौँ तर अब नियन्त्रण सम्भव छैन, क्षत्रीले भनिन् ।

चितवनमा आठ  हजार हेक्टरमा चैतेधान लगाइने गरेकामा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा लगाइन्छ । अहिले चैतेधान पाक्ने बेला हो । 


कस्तो लाग्यो ?

यो पनि