जेठ ०२, २०८१, बुधबार
               

जुवाडे रिहा गर्न डिआइजीको दबाब, सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी उदासीन !

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौँ । कमलादीस्थित एक होटेलमा पुगेर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारीलाई लकडाउनको बहाना बनाएर माथिल्लो दर्जाका प्रहरी अधिकारीको दबाबमा रिहा गर्ने प्रयास भइरहेको छ ।

उनीहरूलाई जुवा ऐनअन्तर्गत ५ दिनको म्याद थपेर उनीहरूलाई दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेकाहरूको बयान लिने काम भइरहेको छ । अधिकांशले बयानमा पारिवारिक र व्यक्तिगत जमघटमा सामान्य रमाइलोका लागि तास खेलेको बताएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौं दुवैले दरबारमार्ग प्रहरी वृत्तका डिएसपी रञ्जनकुमार दाहाललाई हाजिर जमानीमा राखेर छाड्न दबाब दिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरूलाई छाड्न अवकाश पाएर घर जान लागेका आइजिपी ठाकुर ज्ञवालीलाई समेतबाट दबाब आएको दाबी स्रोतको छ । तर आइजिपीले भने आफैँ निर्णय नलिई मातहतका डिआइजी र एसएसपीलाई जिम्मा दिएको बताइन्छ ।

पक्राउ परे लगत्तै छाड्न दबाब दिए पनि दरबारमार्ग वृत्तले जिल्ला प्रशासन कार्यालय पुर्‍याएर अनुसन्धानका लागि पाँच दिनको समय लिएको थियो । जिल्ला प्रशासन कार्यालयले म्याद थपेको भए पनि प्रहरीले उनीहरूलाई धेरै दिन हिरासतमै राखेर अनुसन्धान गर्न नचाहेको बुझिएको छ । तर, सरकारी वकिलको कार्यालयले भने मानेको छैन ।

‘सामान्य जुवातास खेल्नेलाई पक्राउ गर्दा ठूलो सफलता प्राप्त गरेझैँ हल्ला गर्ने प्रहरीले ठुला घरानियाँ व्यापारीलाई जुवाको खालबाट उठाउन पाएको हुन्न सेटिङमा रिहा गर्न खोजिन्छ’ एक सरकारी वकिलले भने, ‘आज बयानका लागि सरकारी वकिल पठाइएन । हेरौँ न एक दुई दिन !’

हिजो ५ जनाको बयान लिएकोमा आज बुधबार सरकारी वकिलको अनुपस्थितिले बाँकी ४ जनाको बयान हुन नसकेको दरबारमार्ग प्रहरी स्रोतले बतायो । पक्राउ परेका एक जुवाडेको पारिवारिक सूत्रका अनुसार भोलि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरेर भए पनि सबैलाई रिहा गराई छोड्ने योजना बनेको छ ।

कमलादीस्थित गणगौर बुटिक होटेलबाट सोमबार राति ‘क्यासिनो क्वाइन’ र पैसासहित पक्राउ परेका भिआइपी जुवाडेहरूमध्ये ज्योति लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, उनका छोरी ज्वाइँ तथा बुटिक होटेलका सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पनि छन् । उनीहरू नेपाल प्रहरीका बहालवाला तथा पूर्वअधिकृतहरूसँग राम्रो सम्पर्क र सम्बन्ध भएका व्यक्ति हुन् । पक्राउ परेका अर्का व्यक्ति सूर्य लाइफ इन्सुरेन्सका सञ्चालक सुरेश अग्रवाल हुन् । त्यस्तै अशोककुमार अग्रवाल विशाल ग्रुप सम्बद्ध हुन् ।

पक्राउ परेकाहरू विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र मिक्की जोगाईमध्ये अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन् । उनी पनि नेपाल प्रहरीका उच्च अधिकारीहरूको सम्पर्कमा रहेका व्यक्ति हुन् ।

त्यस्तै गोविन्दराम सरिया झापाका चिया उद्यमी हुन् । उनी हुन्डी कारोबारीका रूपमा पनि चिनिएका छन् । उनी सौर्य एयरलाइन्सका पूर्व सञ्चालक दीपक पोखरेलका नजिकका साथी मात्र नभएर व्यापारिक साझेदार पनि भएको बताइन्छ । पोखरेल र सरिया अवैध सुपारी कारोबारका साझेदार (पार्टनर) रहेको प्रहरी स्रोतकै दाबी छ ।

दीपक पोखरेललाई महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले काका साइनो लगाउने गरेका छन् । दीपक र डिआइजी पोखरेलको जुवाडे छुटाउन जोड गरिरहेका छन् । यसमा पूर्वएआइजी वीरेन्द्रबाबु श्रेष्ठको पनि हात रहेको स्रोतले बतायो । उनी पनि अग्रवाल र शर्माका प्रिय साथी हुन् ।

सोमबार साँझदेखि अहिलेसम्म पूर्वएआइजी, बहालवाला डिआइजी तथा परिसर प्रमुख व्यापारीहरूलाई छाडिदिन विभिन्न प्रयत्न गरिरहेका छन् । चाडबाडमा प्रहरीका धेरैजसो हाकिमहरूलाई ‘विशेष उपहार’ दिने उनीहरूलाई प्रहरी आफैँले पनि हिरासतमा राख्न चाहेको छैन । अझ ‘मिलाएर तपाईँहरूलाई रिहा गराएका हौँ’ भन्दै पूर्वएआईजी श्रेष्ठ, डिआइजी पोखरेल र परिसर प्रमुख ज्ञवालीले भोलिको लागि पनि ‘तर्साउने र फकाउने’ दुवै बाटो बनाउने कोसिस गरिरकेका छन् ।

डिआइजी पोखरेलले आफू ‘भावी आइजिपी’ भन्दै व्यापारीहरूलाई खुसी पार्न रंगेहात पक्राउ पर्दा पनि सिडिओको आदेशलाई समेत बेवास्ता गर्ने दुस्साहस गर्दै छन्’, परिसरका एक अधिकारीले भने । एसएसपी ज्ञवालीलाई भने व्यापारीसमेत रहेका उद्योग राज्यमन्त्री मोती दुगडले समेत फोन गरेर छाड्न दबाब दिएको परिसर स्रोतले बतायो । एसएसपी ज्ञवालीले डिआइजीलाई सोध्नुपर्ने भन्दै पोखरेललाई देखाएका थिए । तर डिआइजी पोखरेलले भने सोमबार राति नै एनआइसी एसिया बैकका सञ्चालक रामचन्द्र संघाईलाई छाड्न दबाब दिएका थिए ।

लकडाउनको समयमा डिआइजी पोखरेलले एनआइसी एसियाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको कोषबाट चामल तथा खाद्यान्न सहयोग लिएर विभिन्न संघसंस्थालाई वितरण गरेका थिए । संघाई पक्राउ परेको थाहा पाउने बित्तिकै उनले दरवारमार्गको डिएसपीलाई फोन गरी संघाइलाई छाडिदिन दबाब दिएको स्रोतले जनाएको छ । ‘उहाँहरूको सम्बन्ध राम्रै रहेछ । एनआइसी एसिया बैंकको सञ्चालक पनि हुनुहुन्छ, उहाँलाई छाडिदेऊ भन्दै फोन आयो’ दरबारमार्ग वृत्त स्रोतले भन्यो । पोखरेलले राहत सामग्रीका नाममा सो बैंकसँग १२ लाख रुपैयाँ सहयोग लिएको एनआईसी स्रोतले दाबी गरेको छ । उता, आफ्नो ‘प्रोमोटर’ पक्राउ परे लगत्तै रिहा गराउन नसकेको भन्दै एनआईसी एसिया बैंक व्यवस्थापन डिआइजी पोखरेलसँग रुष्ट बनेको छ ।

पक्राउ परेका जुवाडेहरूलाई म्याद थपका लागि दरबारमार्ग प्रहरी वृत्तले प्रक्रिया थालेपछि पूर्वएआइजी वीरेन्द्रवावु श्रेष्ठ पनि सक्रिय भएर लागेका थिए । विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिस्ट्रिव्युटर नेटवर्कमा कर्मचारी रहेका श्रेष्ठले आइजिपी ज्ञवाली तथा डिआइजी पोखरेललाई ‘भोलि काम लाग्ने व्यापारी’हरु भएको सुझाव दिएका थिए । तर डिआइजी पोखरेलले आफ्नो स्वार्थ पनि पूरा हुने, दीपक काकाको भनाइलाई पनि मानेको जस्तो देखिने र पूर्वएआइजी श्रेष्ठको बोलीको सम्मान पनि राखिदिएर भोलिका दिनमा सहयोग प्राप्त गर्न सकिने आधारलाई कायम राख्दै भिआइपी जुवाडेलाई छाड्न दबाब दिएका हुन् । 

डिआइजी पोखरेलले कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्थालाई दुरुपयोग गरेर यस्तो दबाब दिएका हुन् । यो बुँदालाई टेक्दा कानुनी प्रावधानलाई प्रयोग गरेको आधार मानिने डिआइजी पोखरेलको ठम्याइ छ ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चल्न सक्ने भए पनि डिआइजी पोखरेलले त्यता पनि आँखा चिम्लिदिएका छन् । रामचन्द्र संघाई एनआईसी एसिया बैंकका सञ्चालक भएकै कारण गत वर्ष नेपाल सरकारको ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मान पाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि