जेठ ०५, २०८१, शनिबार
               

८ वर्षीया बालिकाको रगत उमाल्ने फेसबुक लाइभ: चर्चादेखि फिल्म खेल्ने अफरसम्म

विवश कुलुङ
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ लड्नुपर्ने सन्देश दिएकी छिन् ।

ठूलाठूला आँखा बनाएर गालामा चिटचिट पसिना निस्किने गरी चिच्याउदै परितोशिका कार्कीले हिन्दीमै भारतीय कदमको विरोध र नेपाली स्वभिमानको चर्को आवाज उठाउँछिन् ।  

दुइ हप्ताअघि उक्त फेसबुक लाइभमा उनले भनेकी छन् ‘नमस्ते म परि, फेरि आए । भारत के सम्झन्छ, उ आफूले आफैँलाई नै ठूलो देश ठान्छ ? हामी पनि ठूलो छौं,  हामी पनि बहादुर छौं । भारतलाई हामी सिकाउने छौं, हामी को हौं भनेर । हामी नेपाली बहादुरी छौं । त्यो भारतलाई हामीले सिकाउनेछौं । भारतले हाम्रो देशको जमिन लिँदैछ । कालापानी, लिपुलेक हाम्रो लागि धेरै जरुरी छ । यो भारतले हाम्रो अपमान गरिरहेको छ । यो कस्तो हो ! म उनीहरूको सरकारलाई चुनौती दिन्छु । किनकि हामी पनि कोहीभन्दा कम छैनौं । यसैले यो भिडियोलाई तपाईं सेयर गर्दै सबैले त्यो भारतीयसम्म पुर्‍याउनुहोस् । यो चुनौती उनीहरूलाई पनि दिउँ । यो सोचुन कि युद्धबाट हाम्रो धेरै क्षति हुन्छ । हामी नेपालीहरू कमजोर छैनौं । हामी सानो देखिन्छौं, कमजोर देखिए पनि हाम्रो दिल त्यो भारतीयहरूको भन्दा पनि ठूलो छ । यो नेपालको जय होस । तपाईहरूले देशको रक्षा गर्नुछ । तपाईहरू कमजोर होइन बहादुर हुनुहुन्छ । यो देशको सिपाहीहरूलाई मेरो तर्फबाट सलाम छ । अब तपाईहरू भारतसँग लड्नु पर्छ । तपाईहरू सबै लड्नुहोस् । ताकत देखाउनु जरुरी छैन तर लड्नु जरुरी छ ।  किनकि त्यो भारतले हाम्रो नेपालको भुमि खोस्ने कोसिस गर्दैछ ।’

उनी भन्छिन् ‘के हामी यिनीहरूसँग लड्नु पर्दैन ? के हामी यत्तिकै हेरिरहने हो र ? हामी लड्नुपर्छ ।  हामी सक्दो लड्नुपर्छ । नत्र हामी नेपालीको त इज्जत नै गइसक्यो, सम्झनोस् । ती इन्डियनहरूलाई हामी सिकाउनु पर्छ कि हामी नेपाली को हौं । हामी नेपाली हौं, संस्कारी छौं । म संस्कारी तरिकाले भन्दैछु । हामी लाड्नेछौ उनीहरूसँग । त्यसपछि हामी भारतसँग जित्छौं या हार्छौं, केही फरक पर्दैन, केही नभए पनि हामीले हिम्मत त देखाउँ । एउटा–एउटासँग लडेर होइन । हामी एकजुट बनेर, राक्षसको रुप लिएर एकैपटक हमला गर्नुपर्छ । म यो भन्दै छु कि भारतले हाम्रो धेरै जग्गा लगिसकेको छ । हामीसँग सबै देश डराउँछ । गोर्खालीको छोराछोरी हो । ती भारतीयहरूलाई हामी सिकाइदिने छौ । भन्नुहोस् के तपाईहरू मेरो साथ हुनुहुन्छ ? अब म चुप बस्दिन, लडाइँ गर्नलाई तयार छु ।’

उक्त भिडियो हेरेपछि उनलाई भारतीय पक्षले गाली पनि गरेका थिए । उनी भन्छिन्– 'मलाई भारतीयहरूले गाली गर्दा मलाई नराम्रो लागेको थियो तर पनि म मेरो देशको लागि बोली रहन्छु । म मेरो देशमा हुर्केकी हुँ र यही देशको नागरिक भएर मर्न पाउँ म यही चाहन्छु ।’
भिडियो अनुसार उनको अभिनयमा देखिएको उर्जा, भाव र राष्ट्रप्रेममा गरिएको एउटा फेसबुक लाइभले भाइरल बनेकी हुन् । उनी नेपाल फ्लाससँग भन्छिन् ‘मैले भाइरल हुन बनाएकी भिडियो थिएन तर मेरो भिडियो मन पराइदिएर अरुले आ–आफ्नो पेजमा पोस्ट गरिदिए पछि भाइरल भएँ । आजभोलि त म फेमस भइसके नि ।’

को हुन् परितोशिका ?

रामेछाप बाम्तीभण्डार घर भई काठमाडौंको काराघारीस्थित न्यु स्टार पोल सेकेण्डरी स्कुलको कक्षा–४ मा अध्ययनरत विद्यार्थी हुन् ।  उनी कक्षाकी प्रथम विद्यार्थी पनि हुन् । विद्यालयमा उनको लगाव खेलकुदमा छ । व्याडमिन्टन, हाइजम्प, रनिङ लगायतका प्रतियोगितामा उनले मेडल पनि जितेकी छन् । उनी भन्छिन् ‘म खेलकुदमा पनि राम्रो गर्छु । पढाइमा पनि फस्र्ट नै हुन्छु । धेरै मेडल जितेको सुरक्षित राखेर आमालाई दिनुछ ।’ 

उनको लगाव खेलकुदमा, सपना वैज्ञानिक बन्ने रहे पनि दैनिक व्यवहार भने अभिनय केन्द्रित छ । उनका बुबा नविन कार्की भन्छन् ‘कहिले ऐनाको अगाडि त कहिले गुडियाको अगाडि बसेर आफै अभिनय गरेर बस्छिन् ।’ तर परितोशिका भने वैज्ञानिक बन्ने सपना रहेको बताउछिन् ‘म पढाईमा मेहनत गर्छु अनि पछि अमेरिका गएर वैज्ञानिक बन्छु अनि नेपालमा आएर सेवा गर्छु । म यो कोरोनाजस्ता भाइरसको औषधि बनाउन सक्ने वैज्ञानिक भएर नेपालमा काम गर्ने सपना छ ।’ 

अभिभावकको सपना

उनका बुबा एक सफल संगितकार हुन् । उनले २ सय भन्दा बढी नेपाली गीतमा संगीत भरेका छन् । त्यसैले छोरीलाई गायिका बनाउन चाहन्छन् । उनले संगीत नसिकाएको पनि होईन । संगीत सिकाए, गीत गाउन प्राक्टिस पनि गराएको उनले बताए । परितोशिकाका बुबा नविनका अनुसार छोरीको चासो नै नभएपछि अहिले गीत र संगीत सिकाउन छोडेका छन् । छोरीको दैनिकी र व्यवहार हेर्दा प्रेजेन्टेशन र अभिनयमा उच्च मनोबल रहेको बुबाको भनाइ छ । 

फिल्म खेलाउने अफर

उनको सपना वैज्ञानिक बन्ने छ । तर उनी दैनिक विभिन्न कलाकारहरूको 'क्यारिकेचर' गर्न प्रयास गरिरहन्छिन् । लकडाउनको समयमा टिकटक बनाउने र फेसबुक लाइभ आउने क्रम बाक्लै रह्यो । जब उनले भारतीय अतिक्रमणविरुद्ध फेसबुकमा बोलिन् तब उनको चर्चा एकाएक सुरु भयो । उनी भाइरल मात्र भइनन् । फेसबुकमा भारतीय कदमको बारेमा लाइभ बसेको तेस्रो दिनमा उनलाई फिल्म खेलाउने अफर समेत आएको परितोशिका बताउछिन् । 

उनका बुबा नविन कार्कीका अनुसार छोरीलाई नाई नभन्नु ६ निर्माण टिमका एक जिम्मेवार सदस्यले म्यासेज गरेका हुन् ‘नानु तपाईंको आवाज र तपाईंको बोल्ने शैली एकदमै राम्रो छ । तपाईंको भविश्य धेरै उज्जवल छ त्यसैले मैले तपाईंलाई नाई नभन्नु ६ फिल्ममा खेलाउने निर्णय गरेको छु । अहिले लकडाउन छ, लकडाउन सकिएपछि तपाईंको बाबा/आमासँग सल्लाह गर्न आउनेछु ।’  परितोशिकाका अनुसार चलचित्र ‘नाई नभन्नु ल’को अघिल्ला सिरिजका बाल कलाकार ठूला भइसकेकाले निर्माण पक्षले उनलाई यो अवशर दिएका हुन् । 

त्यसपछि परितोशिकाको खुशीको सीमा नै छैन । उनले आफ्ना चिनजानका सबै साथीहरूलाई अफर आएको कुरा शेयर गरिसकेकी छिन् । साथै उनको अभिनय प्रयास गर्ने क्रम पनि बढेको छ । उनले लकडाउन खुलेपछि फिल्म खेल्ने कुरा सुनाए पनि अन्तिम सपना भनेको वैज्ञानिक बन्ने हो भन्ने कुरा स्तम्भकारलाई दोहोर्‍याएर भनिन् । उनले स्तम्भकारसँगको भिडियो कलमा एक अभिनय गर्न समेत भ्याइन् । परितोशिकाले फेसबुक एकाउन्ट खोलेको १ महिना मात्र भएको छ । तर उनको फलोवर्स १५ हजार बढी छ । 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि