जेठ ०४, २०८१, शुक्रबार
               

बैंकमा भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

तनहुँ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । 

व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । अहिलेको विषम परिस्थितिमा बैंकबाट भत्ता वितरण गर्दा भीडभाड बढेको र लाभग्राहीलाई पनि अप्ठ्यारो भएका कारण वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको व्यास नगरपालिका–४ का सदस्य वसुन्धरा घर्तीले जानकारी दिइन् ।

“यसभन्दा अगाडि बैंकबाटै भत्ता वितरण हुँदै आएको थियो, तर अहिलेको परिस्थतिमा बैंकबाट वितरण गर्दा बढी भीडभाड हुने देखियो”, घर्तीले भनिन्, “त्यही भएर सामाजिक दूरी कायम गर्दै वडाबाटै भत्ता वितरण गर्‍यौँ ।” उनका अनुसार प्रभु बैंक दमौली शाखाको समन्वयमा वडाबाट १६० जनालाई चार महिनावापतको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । वडामा २४७ लाभग्राही छन् । बाँकीलाई बैंकले समय मिलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ ।

वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । बन्दाबन्दीको समयमा बैंकमा गएर पालो पर्खिएर भत्ता बुझ्न समस्या हुने भएकाले वडाबाटै भत्ता पाउँदा सजिलो भएको ज्येष्ठ नागरिक केशरबहादुर गुरुङले बताए- “बन्दाबन्दीले गर्दा सधैँ बैंक पनि खुल्दैन, खुलेको दिनमा भीडभाड हुन्छ, घर नजिकै भत्ता पाउँदा सजिलो भयो ।”

यसैगरी व्यास नगरपालिका–९ ले पनि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाध्यक्ष सुरेश थापाले महालक्ष्मी विकास बैंक दमौली शाखाको समन्वयमा २७० लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि