जेठ ०४, २०८१, शुक्रबार
               

१० दिनपछि भेटियो शव, टाउकोमा चोटैचोट

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

रुकुम पश्चिमको चौरजहारी– ८ सोतीमा भएको घटनामा परी बेपत्ता भएका एक युवकको शव १० दिनपछि (मंगलबार) भेटिएको छ । 

युवकको टाउकोमा चोटैचोट भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट करिब २० किलोमिटर तल भेरी नदीमा भेरी नगरपालिका– ११ का २१ वर्षीय गोविन्द शाहीको शव भेटिएको हो । 

स्थानीय बासिन्दाको सहयोगमा भेरी नगरपालिका– १३ खोदाखोलानजिकबाट शव निकालिएको जाजरकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले बताए । 

खोजीमा संलग्न प्रहरीका अनुसार टाउकोमा चोटैचोट, हात भाँचिएको र कपडाले टाउको बाँधिएको अवस्थामा शव भेटिएको छ । ‘सबै शव चोटपटक लागेको अवस्थामा भेटिएका छन्,’ खोजीमा संलग्न स्थानीय सुमन शाहले भने । 

गोविन्दको शव भेटिएसँगै घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

यसअघि भेरी नगरपालिका–४ का नवराज विक, सञ्जीव विक र गणेश बुढा, भेरी नगरपालिका– ११ का लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारीका टीकाराम सुनारको शव भेटिएको थियो । 

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराजसहित १८ जनालाई सोतीका बासिन्दाले कुटपिट गरेका थिए । घटनामा ६ जना बेपत्ता भएका थिए । 

पीडक पक्षले आफैँ भागेर भेरीमा हामफालेको दाबी गरेका छन् भने उनीहरूलाई मारेर फालेको पीडित पक्षको आरोप छ । 

घटनामा संलग्न रहेको आरोपमा चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । जसमध्ये १८ जना पक्राउ परेका छन् भने दुईजना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेले उपचार पाएनन्

घटनामा घाइते भएका युवकहरूले उपचार नपाएको गुनासो गरेका छन् । घटनामा १२ जना घाइते भएका थिए । 

लाठी र ढुंगामुढाले प्रहार गर्दा चोट लागेको उनीहरूले बताएका छन् । हँसियाले प्रहार गर्दा हात काटिएको भए पनि उपचार नपाएको सुदीप खड्काले गुनासो गरे । 

टाउकोमा पनि समस्या भएको उनको भनाइ छ । अर्का घाइते सरोज भडेकाको पनि त्यस्तै गुनासो छ । 

पिठ्युँमा चोट लागेको र शरीर दुख्ने गरेको उनको भनाइ छ । 

यो पनि