जेठ ०४, २०८१, शुक्रबार
               

रेडियोबाट पढाइ सुरु

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । बर्दियाका स्थानीय तहहरुमा रेडियोबाट पढाइ सुरु भएको छ । महामारीले फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण समस्यामा परेका बर्दियाका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरबाट पढाई सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले रेडियोबाट शिक्षा, टोलटोलमा शिक्षक, रेडियो पढाइ कार्यक्रम आइतबारदेखि सुरु गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।  रेडियो ठाकुरबाबासहित बर्दियाका अधिकांश स्थानीय तहका विद्यार्थीहरुलाई पढाइमा सहयोग पुग्ने अपेक्षाले रेडियो टाइगर बर्दियाको सहकार्यमा पढाई कार्यक्रम सञ्चालनमा ल्याईएको जनाइएको छ ।

रेडियो कार्यक्रम दैनिक ३ घण्टा ३० मिनेटको रहने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले जानकारी दिए । कक्षा ४ देखि १० सम्मका मुख्य विषयहरु आइतबारदेखि बिहीबारसम्म र शुक्रबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि रेडियोबाट पढाइ कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने उनको भनाइ छ ।

कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई नगरको शिक्षा शाखाले अनुरोध गरेको छ । रेडियो पढाइ कार्यक्रम ठाकुरबाबा नगरपालिकाको मुख्य आयोजनामा प्लान इन्टरनेशनल नेपाल नेपालगञ्ज र स्याक नेपाल बाँकेले रेडियो टाइगर बर्दियासँगको सहकार्य तथा बर्दियाका सबै स्थानीय तहहरुसँग एवं शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको सहआयोजनामा सञ्चालन भइरहेको छ ।

कार्यक्रमबाट ठाकुरबाबा नगरपालिकासहित गेरुवा, बारबर्दिया, मधुवन, राजापुर, गुलरिया, बढैयाताल र बाँसगढीभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । साथै, संस्थागत विद्यालयहरुको संस्था प्याब्सन ठाकुरबाबाले पनि रेडियोबाट पढाई कार्यक्रम ‘रेडियो पाठशाला’ आइतबारदेखि सञ्चालन गरेको छ ।

जानकारी अनुसार प्याब्सनमा आबद्ध नगरभित्र रहेका १२ वटा (बोर्डिङ) स्कुलका विद्यार्थी लक्षित कक्षा २ देखि ७ सम्मको पढाइ कार्यक्रम रेडियो टाइगरबाट दिउँसो २ बजेदेखि सञ्चालन गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि