जेठ ०६, २०८१, आइतबार
               

सांसद् र पूर्वमन्त्रीसमेत रोकिए नागढुंगामा नाकामा, सवारीपास र आरडिटी रिर्पाेट अनिवार्य

ADVERTISEMENT

काठमाडौं । काठमाडौंबाट प्रदेशसभा बैठकका लागि हेटौँडा जान लागेका प्रदेश सांसद हिरानाथ खतिवडा बिहीबार बिहान नागढुंगा नाकामा ४ घण्टा रोकिए । उनले पास नलिएको कारण महानगरीय प्रहरी प्रभाव नागढुगाले सांसद् खतिवडालाई रोक्यो । उनले आफ्नो सहयोगी मार्फत ईपास मगाएपछि मात्र प्रहरीले जान दियो ।

आइतबार पासबिनै प्रतिनिधिसभाका २ जना सांसद काठमाडौं आउँदै थिए । काठमाडौं आउने अनुमति पास नभएको भन्दै उनीहरूलाई नागढुंगा प्रहरीले रोक्यो । तीन घण्टापछि ती सांसदहरूले सहयोगीमार्फत पासको व्यवस्था गरेपछि उनीहरू काठमाडौं प्रवेश गर्न पाए । अहिले भने सङ्घीय संसद्का सदस्यहरूलाई परिचयपत्रकै आधारमा ओहोर–दोहोर गर्न दिइएको छ ।

केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास सचिव देवेन्द्र कार्की पनि सोही नागढुंगा नाकामै रोकिए । काठमाडौं भित्रन लागेका उनी बाटोमा पर्ने अरू चेकिङमा मन्त्रालयको कार्ड देखाउँदै आए । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट भने उनी प्रवेश गर्न पाएनन् । काठमाडौं प्रहरीले कडाइ गरेपछि सचिव कार्की फर्किए ।

शनिवार बिहान एक जना पूर्व मन्त्री तराईका जिल्लाबाट काठमाडौं फर्किँदै थिए । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको पास उनको गाडीमा टाँसिएको थियो । तर कोरोना परीक्षण रिर्पाेट आरडिटी परीक्षण गरेको रिपोर्ट उनीसँग नभएपछि उतै फर्काइयो ।

काठमाडौंमा कोरोना भाइरस सङ्क्रमित बढेसँगै बाहिर जिल्लाबाट प्रवेशमा कडाई गरिएको  छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकाका सबै स्थानीय तहसँग  समन्वय गरेर उपत्यका प्रवेशमा थप कडाइ गरेको हो । अत्यावश्यक प्रयोजनबाहेकका लागि भने प्रवेश गर्न पाइने छैन । पास नहुँदा र कोरोना परीक्षण रिर्पाेट नहुँदा सांसद, पूर्व मन्त्री, सचिव तथा उच्च ओहदाका धेरै जना रोकिएका छन् । पक्रिया पुरा गरेपछि मात्र भित्रन पाएका छन्, भने पास नहुनेहरू फर्किएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुई साताअघि काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरू पूर्णरुपमा सिल भएका थिए । सिल भएसँगै अत्यावश्यक कामले काठमाडौं छिर्नुपर्ने मानिसले पनि आरडिटी परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ । जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, गृह सचिव, सुरक्षा निकायका प्रमुख, लगायतको बैठकले उपत्यका प्रवेश गर्ने सबै नाका सिल  गर्ने निर्णय भएको थियो । गृहले पत्राचार गर्दै लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेलगतै कडाइ भइरहेको छ ।

पछिल्लो समय उपत्यका प्रवेशमा थप कडाइ हुने भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली बताउँछन् । ‘जुनसुकै पद तथा ओहदामा बसेकाहरू भए पनि अत्यावश्यक प्रयोजनबाहेकका लागि पास र कोरोना परीक्षण रिर्पाेटबाहेक कसैलाई प्रवेश गर्न दिइएको छैन’ ज्ञवालीले भने ‘अत्यावश्यक काममा काठमाडौं छिर्ने व्यक्तिले आरडिटी परीक्षण रिर्पाेट र  काठमाडौं उपत्यका प्रवेश अनुमतिका जारी पास देखाउनुपर्नेछ ।’ आफूहरूले काठमाडौं उपत्यकाको नाकामा कडाइ गरिरहेपनि यहाँभन्दा प्रस्थान बिन्दुबाटै आवत–जावतलाई रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्नुपर्ने उनको भनाई छ ।

स्थानीय तहले क्वारेनटाइन बनाए सहज हुने

काठमाडौं भित्रनेलाई  क्वारेन्टाईमा समेत राख्ने गरिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन बताउँछन् । काठमाडौं नाका प्रवेश गर्ने ठाउँ नागढुंगा चन्द्रागिरि नगरपालिकामा पर्छ । नगरपालीकाले मनमोहन अस्पताल, केही होटेल, पार्टी प्यालेस, सामुदायिक भवनलाई क्वारेनटाइन बनाएको छ ।

प्रवक्ता महर्जनले भने ‘अत्यावश्यक कामले काठमाडौं बाहिर गएकाहरू फर्किएमा हामीले क्वारेन्टाईनको व्यवस्था गरेका छौँ, सबै मापदण्ड पुरागरेपछि मात्र उहाँहरू घर जान पाउनेछन्, सबै ठाउँका मानिसहरुलाई हामी लेनै राख्न सम्भव छैन, सम्बन्धित स्थानीय तहले क्वारेन्टाईनको व्यवस्था गर्नुपर्छ । त्यसो भए, अलपत्र परेर नाकामै केही रोकिन पाउँदैन, उनीहरू आफ्नो गाउँ ठाउँ जान पाउँछन् ।’

लुकीछिपी उपत्यका प्रवेश गरिसेकाहरुको समेत खोजी र लगत सङ्कलन गरी आवश्यक कारबाही प्रक्रिया थालिएको प्रवक्ता महर्जनले बताए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि