जेठ ०२, २०८१, बुधबार
               

एआइजीको दरबन्दी थप्न अस्वाभाविक चलखेल !

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनामा बाहेक अन्य सुरक्षा निकायका अधिकारीलाई राष्ट्रिय सुरक्षामा दरबन्दी राखेर खटाइनु भनेको कामविहीन बनाइनु जस्तै हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई राष्ट्रिय सुरक्षा परिषदमा खटाउँदा उनीहरूले आफू कामविहीन भएको मान्छन् । त्यतिमात्रै होइन नेतृत्वका लागि दौडधुप गरिरहेका प्रहरीले संगठनबाटै टाढा राख्न खोजेको भनेर प्रहरी नेतृत्व र सरोकारवाला मन्त्रालयसँग बारम्बार गुनासो गरिरहेका हुन्छन् ।

सरकारले पनि पछिल्लोपटक नेपाल प्रहरीको प्रतिनिधित्व रहने राष्ट्रिय सुरक्षा परिषद्को प्रहरी अतिरिक्त महानिरीक्षकको (एआइजी) दरबन्दी कटौती गरिदियो । एआइजीको मात्रै कटौती गरेन डिआइजीको दरबन्दी पनि कटौती गरेको छ । तर कामविहीन बनाउने दरबन्दी ब्युँताउन यतिबेला नेपाल प्रहरीका केही अधिकृतहरू लागि परेका छन् । अहिले उनीहरूलाई यो दरबन्दी किन आवश्यक परेको होला भन्ने अनुमान  लगाउन मुस्किल छ ।

सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी तीन वटा मात्रै बनाएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान, कार्य तथा अपराध अनुसन्धान विभाग र प्रशासन तथा मानव स्रोत विभागमा एआइजीको दरबन्दी रहेको छ । बाँकी विभागहरूमा डिआइजी र एसएसपी मात्रै रहेका छन् । अहिले तीन वटै दरबन्दीमा एआइजीहरू क्रियाशील छन् । तर राष्ट्रिय सुरक्षा परिषदमा एआइजी दरबन्दी थप माग्नुका पछाडि केही अधिकृतहरूको व्यक्तिगत स्वार्थ बाझिएको छ ।

आगामी असार २४ गते वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै अहिलेका एआइजी तारणी लम्साल पनि बिदा हुँदै छन् । ज्ञवाली र लम्सालले अवकाश पाएपछि एआइजीका लागि दुई दरबन्दी खाली हुनेछन् । ती दुई पदमा डिआइजीद्वय नीरजबहादुर शाही र प्रद्युम्न कार्की बढुवा हुने देखिएपछि प्रहरीभित्र शक्तिको आडमा एक एआइजीको दरबन्दी थप्ने चलखेल सुरु भएको हो ।

यसअघि नै एआइजीमा बढुवा हुन जोडबल गरिरहेका डिआइजी विश्वराज पोखरेलले त्यो चलखेल गरेका हुन् । अहिले एआइजी हुन नपाए अघिल्ला व्याचीहरूले उनलाई उछिन्न सक्ने भएकाले रक्षामन्त्री ईश्वर पोखरेलमार्फत उनी दरबन्दी थप्न कस्सिएका हुन् । उनले रक्षामन्त्री पोखरेललाई मात्रै यो विषयमा प्रभावित बनाउन खोजेका छैनन्, संवैधानिक अंगका प्रमुखलाई समेत प्रभावमा पारेर आफ्नो भविष्य डामाडोल हुन लागेको भन्दै एआइजी दरबन्दीको थप गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनिदिन आग्रह गरेका छन् । गत वर्ष एकल डिआइजीमा बढुवा सिफारिस भएपछि गृहमन्त्री रामबहादुर थापाको जन्मदिन मनाउन मन्त्रीक्वाटर पुल्चोक पुगेका डिआइजी पोखरेल त्यसपछि ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा आफैँ हर्ताकर्ता बनेका थिए ।

गृहमन्त्री रामबहादुर थापाको जन्मदिनमा पुष्पगुच्छा लिएर पुगेका डिआइजी विश्वराज पोखरेल !

यद्यपी उनी कांग्रेसका नेताहरु कहाँ आफू ‘तिन पुस्ते कांग्रेस’ भएको प्रमाण नै पेश गर्दै आएका छन् । कांग्रेस नेताहरुलाई जन्मथलो ओखलढुंगामा आफ्नो पारिवारिक पृष्ठभूमि बुझ्न पनि आग्रह गर्ने गरेका छन् । तत्कालीन मधेशी जनाधिकार फोरम(लाकतान्त्रिक) बाट गृहमन्त्री बनेका विजयकुमार गच्छदार (हाल कांग्रेस) निकट कांग्रेस नेताहरुलाई आफू ‘कालो कांग्रेस’ भएकोले राम्रो ठाउँमा सरुवा तथा एसपी वढुवामा सहयोग गरिदिन आग्रह गर्दै पोखरेल राजधानीका होटल होटल पुग्ने गरेका थिए । स्रोतले बताए अनुसार उनले विद्यार्थी कालको नेविसंघको सदस्यता लिएको रसिद नै बोकेर गच्छदार कहाँ पुगेको एक नेताले बताए ।

गत असोजमा नेकपाले गरेको चियापान कार्यक्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट एक दर्जन प्रहरी अधिकारीका साथमा सहभागी भएर आफू नेकपा निकट भएको देखाउँदै उनले शक्ति केन्द्रलाई प्रभावित पार्ने प्रयास गरेका थिए । अहिले पनि आफू आइजिपी भए त्यो समयमा आगामी आम निर्वाचन पनि हुने भन्दै उनले नेताहरूलाई प्रभावित बनाउन खोजेका छन् । डिआइजी पोखरेलले असारभित्रमै राष्ट्रिय सुरक्षा परिषदमा एआइजी दरबन्दी थप गराउन पहल गरिरहेका छन् ।

रक्षामन्त्री पोखरेललाई दाजु नाता लगाएर उनी निकट हुन थालेको तीन वर्षभन्दा बढी भैसकेको छ । त्यसैगरी पूर्वका धेरै सांसदहरूसँग उनले उठबस सुरु गरेका छन् । ‘पूर्वबाट एक जना आइजिपी हुनुपर्ने भन्दै क्षेत्रीय नाता लगाउनसमेत थालेका छन्’, एक सांसदले भने ।

डिआइजी पोखरेलले परिषदमा सेनाको मात्र भूमिका विगतमा रहेकोमा अब प्रहरीको पनि प्रभावकारी उपस्थिति हुनुपर्ने भन्दै दरबन्दी थप्न दबाब दिँदै आएको एक उच्च प्रहरी अधिकृत बताउँछन् । राजनीतिक, सैनिक शक्ति तथा कूटनीतिक शक्तिलगायतको माध्यमबाट आफ्नो राज्यको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षालगायतको काम गर्ने परिषदमा प्रहरीको उपस्थिति र भूमिका कमजोर हुन नहुने तर्क डिआइजी पोखरेलले गर्दै आएका छन् ।

यदि दरबन्दी नथपिए डिआइजीहरू धिरजप्रताप सिंह, सहकुल थापा, वसन्त लामा, रविन्द्र धानुकलगायतसँग आइजिपीका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एसएसपीदेखिनै शक्ति केन्द्रलाई प्रभाव पारेर अनपेक्षित छलाङ मार्दै आएका पोखरेल आइजिपीको सम्मुखमा आइपुग्दा झन्डै एक वर्ष पछाडि डिआइजी भएकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएपछि उनी अहिले नै एआइजीमा बढुवाको चलखेलमा लागेका हुन् ।

यो पनि