काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् ।
गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् । गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिए ।
“गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष गर्यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु ।”
सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै उनले यी उपलब्धिमा टेकेर देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ देश समुन्नती र समृद्धिको मार्गमा द्रुत्ततर गतिमा अगाडि बढिरहँदा विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरस (कोभिड–१९) ले निकै अप्ठ्यारो पारेको बताएका छन् ।
गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन वलिदान दिनुहुने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले सङ्घर्षका क्रममा घाइते भएका योद्धाको स्वास्थ्य लाभको कामनासमेत गरे । सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले बेपत्ताको अवस्था छिट्टै सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास व्यक्त गरे ।