असोज ०५, २०८१, शनिबार
               

रुकुम घटना छानिबनका लागि उच्चस्तरीय नागरिक छानबिन आयोग गठनको माग

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्याबारे बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताले उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । 

खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र  विनोदविक्रम केसीलगायत एक सय ३८  लेखक, साहित्यकार र अधिकारकर्मीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

‘जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण  नवराजसहित तीनजनाको हत्या गरिएको र अन्य तीनजनालाई बेपत्ता पारिएको नरसंहारका घटनाका पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही होस्,’  उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवारका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालियोस् ।’

विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप छ । 

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग  विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि त्यसतर्फ जाँदै गर्दा सो घटना भएको थियो । 

नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । 
सोही घटनामा अन्य तीनजना बेपत्ता छन् । 

उनीहरुले देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पुर्‍याइएका सबै घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय संसदीय समिति तुरुन्त गठन गर्नसमेत आग्रह गरेका छन् ।

निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला संघसंस्थाले आवाज उठाउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि