असोज ०५, २०८१, शनिबार
               

सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मुलुकको कूल वन क्षेत्रको सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ ।    अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपालको कूल वन क्षेत्रको हिस्सा (प्रतिशत) मध्ये कर्णाली प्रदेशमा १७ दशमलव ९० र प्रदेश नं २ मा तीन दशमलव ९९ प्रतिशत रहेको छ । 

यसैगरी कूल वन क्षेत्रमध्ये प्रदेश नं १ मा १७ दशमलव १६, वाग्मती प्रदेशमा १६ दशमलव ५०, गण्डकी प्रदेशमा १२ दशमलव  ३६, प्रदेश नं ५ मा १४ दशमलव ७४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ३४ प्रतिशत वन क्षेत्र रहेको छ ।

मुलुकभर प्रदेश नं २ मा ८४, प्रदेश नं १ मा १३ र प्रदेश नं ५ मा नौ गरी १०६ तहमा वन क्षेत्र नरहेको स्थिति छ । नेपालको कूल भूभागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव चार प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कूल क्षेत्रफलको ४४ दशमलव सात प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा छ भने सबैभन्दा कम वन क्षेत्र तराईमा छ ।

आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहमार्फत २२ हजार ७२ लाख ३५६ हेक्टर वन क्षेत्रको व्यवस्थापन भई २९ लाख २७ हजार ३२९ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

जैविक विविधता एवं पारिस्थितिकीय प्रणालीको संरक्षण र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्रसमेत गरी २० संरक्षित क्षेत्र स्थापना गरी मुलुकको ३४ हजार ४२० वर्ग किमी अर्थात् २३ दशमलव चार प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणालीअन्तर्गत व्यवस्थापन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि