प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।
तर, जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्धत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताए ।
‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ,’ उनले भनेका छन् ।
छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताए ।
‘हामी स्पष्ट हुनुपर्छ कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन।
कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशवासीहरूलाई आग्रह गर्दछु । घर फर्किएका सबै दिदीबहिनी दाजुभाइहरूलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।
अप्ठ्यारो बेलामा केही तत्वहरू जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्य पूरा गर्न सक्रिय हुन सक्छन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्धत गैरजिम्मेवार तत्वहरूको बहकावबाट सतर्क रहनसमेत आह्वान गर्दछु ,’ ओलीले भने ।
स्वदेश भित्रिइसक्नुभएका दाजुभाइ दिदीबहिनीले छिटो परीक्षण गर्न, सामाजिक दुरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टाइनमा रहन र अन्य नियमहरूको पालना गर्नु जरुरी रहेको ओलीले बताए ।
जनता बीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।