असोज ०६, २०८१, आइतबार
               

सित्तैमा नदिएको भन्दै वडाध्यक्षले बजार बन्द गराउँदा झडप

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

धुम्बाराही तरकारी बजार बन्द गराउन गएका प्रहरी र व्यापारीबिच झडप भएको छ । दुई सय बढी स्टल रहेको सो तरकारी बजार बन्द गराउन हतियारसहित गएको प्रहरी र पसल संञ्चालकबीच सोमबार बिहान चार बजे झडप भएको हो ।

लकडाउनको समयमा गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, काठमाडौँ महानगरपालिकालगायतले खाद्यन्न तथा तरकारी पसल बजार बिहान ११ बजेसम्म खोल्न अनुमति दिएको छ ।

सोही अनुमतिअनुसार काठमाडौंलगायत देशभरका बजार पसल खुलिरहेक छन् । 

तर, वडा नम्बर ४ मा भने वडाध्यक्ष मोहन विष्टले आफूलाई राहत वितरण गर्नका लागि धुम्बाराही तरकारी बजारबाट सित्तैमा तरकारी नदिएको भन्दै बजार बन्द गराउन निर्देशन दिएका थिए ।

तरकारी बिक्रेताहरूले सो निर्देशन नमानेपछि वडाध्यक्ष विष्टले पसल बन्द गराउन हतियारसहित प्रहरी बजार पठाएका हुन् ।

माथिको आदेश भन्दै एक प्रहरी जवानले तरकारी व्यवसायीहरूलाई बन्दुक ताकेपछि दुईपक्षबीच सामान्य झडप भएको हो ।

विनाकारण बजार बन्द गराउन आएपछि आक्रोशित व्यवसायीले प्रहरीलाई लखेटेका थिए । पछि महानगरीय प्रहरी वृत्त चक्रपथबाट प्रहरी निरीक्षक आरके सिंह नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेपछि स्थिति सामान्य बनेको थियो ।

वडाध्यक्ष विष्टले यसअघि पाँच दिन बजार बन्द गराएपछि, बजार पुन: आइतबारबाट खुलेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिमबाट बचाउन भन्दै सो बजारले एक–एक मिटरको दूरीमा गोलो घेरा लगाएको छ । तरकारी खरिदकर्ताले सोही गोलो घेरामा उभिएर आफ्नो हातले नछोई तरकारी किन्नुपर्ने नियम छ। 

भिड नहुने गरी सुरक्षित रूपमा तरकारी बजार चलाउँदा पनि वडाध्यक्ष विष्टले अवरोध गरेको व्यपारीहरुको गुनासो छ ।

उनीहरू भन्छन्, ‘एक–एक मिटरको दुरीमा ग्राहक राखेर भिडभाड नगरी बजार चलाउँदा पनि वडाध्यक्षले बन्द गर्न धम्की दिएका छन्, यहाँबाट हामीले उहाँलाई राहतको लागी सित्तैमा तरकारी नदिएको भन्दै उहाँ रिसाउनुभएको छ ।’

सो तरकारी बजारले नियमित रूपमा राहतको लागी विभिन्न ठाउँहरूमा तरकारी निःशुल्क पठाई रहेको छ ।

त्यहाँबाट राहतको लागी दिइने तरकारी आफ्नो बाहेक अरू वडामा नपठाउन वडाध्यक्ष विष्टले भन्दै आएका थिए ।

तर, व्यापारीहरूले उनको आग्रह नमानेपछि प्रतिरोधको भावना लिएर बन्द गराउन खोजेको आरोप छ । ‘एक व्यापारी भन्छन्, ‘हामीले मानवीय सेवाभावले तरकारी निशुलक दिइरहेका छौ,सो तरकारी यो वडा भन्दा अन्त दिन मिल्दैन भनेर वडाध्यक्षले नभन्नुभएको थियो, हामीले सबै ठाउँमा दिनुपर्छ भन्दै उहाँको निर्देशन मानेनौँ, अहिले त्यही बदला लिन बजार बन्द गराउन दबाब दिइरहनुभएको छ ।’

वडाध्यक्षले कानुन हातमा लिएको आरोप

बजार सञ्चालक सिके लोप्चनले भने गृहमन्त्रालय, काठमाडौँ जिल्ला प्रशासन, र महानगरपालिकाले खोल्न अनुमति दिएकाले वडाध्यक्ष विष्टको मात्रै निर्देशनमा बजार बन्द नहुने बताउँछन् । उनी भन्छन् ‘कि त महानगरपालिकाले पुरै बन्द गराओस्, एक जना वडाध्यक्षको आदेशको भरमा बजार बन्द गर्दैनौ, महानगरको निर्णयविना उहाँको एकल आदेश गैर कानुनी छ ।’

स्थानीयबासीलाई ताजा तरकारी, खाद्यवस्तु र बिचौलिया नभएको बजारमा पहुँच बढाउन तरकारी बजार खोलिए पनि बिचौलियाको प्रलोभनमा परेर वडाध्यक्षले गैर कानुनी रूपमा बन्द गराउन प्रहरी पठाएको व्यापारीहरूको गुनासो छ । लकडाउनमा स्थानीय तरकारी किन्न कालीमाटी नै पुग्नुपर्ने अवस्था आउन नदिन धुम्बाराहीको बजारले सहज गरेको व्यापारीहरू बताउँछन् ।

सो बजारले गौशालादेखि चक्रपथ हुँदै बालाजुसम्मका उपभोक्तालाई सजिलो भएको छ । त्यहीबाट उपभोक्ताले सुपथ मूल्यमा सामान पाएपछि वडाध्यक्ष विष्टले विचौलीयाको प्रलोभनमा पारेर बजार बन्द गराउन खोजेको व्यापारीहरूको आरोप छ । उनीहरू भन्छन्, ‘हामी व्यापारीले होइनौँ, धेरैजसो किसानहरू आफै आएका छौँ यसैले यहाँ तरकारी अरू बजारमा भन्दा सस्तो छ, महँगोमा तरकारी बेच्नेको बजार सुकेको छ, उनीहरूकै प्रलोभनमा वडाध्यक्षले हामीमाथि आँखा गाडेका छन् ।’ 


कस्तो लाग्यो ?

यो पनि