जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टिनबाट फेरि भागे एघार जना

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

कपिलवस्तुको यशोधरा गाउँपालिका– ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भाग्नेहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए।  

पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करिब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरू भागेको उनले बताए । उनले भने “संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।”

खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए । दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको समेत उनले बताए ।

गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए ।

उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ । त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टिनबाट समेत चार जना भागेका थिए ।  

भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए ।  क्वारेन्टिन सञ्चालन गरिएका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए ।  

कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टिनमा  सात हजार ४ सय ५१ जना छन् । हालसम्म क्वारेन्टिनमा बसेर एक हजार ८ सय ४ जना डिस्चार्ज भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि