बैशाख २२, २०८१, शनिबार
               

लिपुलेकमा प्रत्येक डेढ किलोमिटर दूरीमा नेपाली सशस्त्र प्रहरीको पोस्ट, चौबीसै घण्टा ड्युटी
लकडाउनको अवधिमा मात्रै १२१३ अस्थायी पोस्ट स्थापना

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा १ हजार २ सय १३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशको सीमा सिल भएको अवस्थामा घूसपैठ हुनसक्ने भन्दै लकडाउनकै अवधिमा सो संख्यामा अस्थायी पोस्ट निर्माण गरिएको हो ।

नेपाल–भारत पूर्वपश्चिम दूरी १ हजार ८ सय ८० किलोमिटर छ । सीमासँगै जोडिएका विभिन्न स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) पनि छन् । तर, कोरोनापछिको परिस्थितिमा घूसपैठ रोक्न थप पोस्ट आवश्यक भएकाले त्यसैअनुसार अगाडी बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठ बताउँछन् ।

उनका अनुसार अस्थायी रूपमा गठन भएका पोस्टमा ड्युटी भने चौबीसै घण्टा हुने गरेको छ । डीआईजी श्रेष्ठका अनुसार अस्थायी पोस्ट स्थापना भएपछि सीमा क्षेत्रमा हरेक डेढ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको उपस्थिति भएको छ । यसअघि ५ देखि १५ किलोमिरटको दूरीमा सशस्त्र प्रहरी रहँदै आएको थियो ।

भारतबाट हुनसक्ने घूसपैठले नेपालमा कोरोनाको जोखिम बढ्न सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन् । प्रवक्ता श्रेष्ठले भने, “असहज परिस्थितमा हुने सीमा अपराध नियन्त्रण, घूसपैठ, सीमा सुरक्षा नै हाम्रो प्रमुख दायित्व हो ।

नेपाल–भारत खुला सीमा आफैंमा ठूलो चुनौती हो । त्यसैले अहिले सीमामा हाम्रो उपस्थिति बढाएका छौं ।”

सशस्त्र प्रहरीमा ३७ हजार बढी दरबन्दी छ । जसमध्ये अहिले ३१ हजार बढी जनशक्ति प्रत्यक्ष रूपमा फिल्डमै खटिएको श्रेष्ठ बताउँछन् । पछिल्लो समय विभिन्न स्थानमा सशस्त्र प्रहरीको टोलीमाथि भइरहेको आक्रमणलाई पनि गम्भीरतापूर्वक लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सीमा क्षेत्रमा दुवैतर्फ आफन्त, व्यापार, खेतीपाति हुने गरेको र त्यसकारण पनि लुकेरै भए पनि नेपालतर्फ आउने खोज्ने र रोक्न खोज्दा आक्रमणमा उत्रिएको प्रवृत्ति देखिएको प्रवक्ता श्रेष्ठको बुझाइ छ । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा प्रविधिको समेत प्रयोग गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि