असोज ०६, २०८१, आइतबार
               

मानव धर्म सेवा समितिले चार हजारलाई निःशुल्क भोजन गरायो

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले लकडाउनका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ । 

मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क भोजन वितरण सुरु गरेको आश्रमकी गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिए ।

उनले पोखरा–२६ मा रहेको सत्लोक आश्रम र श्रीहंश सनातन मन्दिर पोखरा–११ रानीपौवाबाट दैनिकरूपमा भोजन वितरण गरिँदै आएको बताए ।

भोजन वितरण कार्यक्रम संयोजक ओम उपाध्यायले वैशाख १५ देखि जेठ २ गतेसम्म चार हजार जनालाई भोजन वितरण गरेको जानकारी दिए । उनका अनुसार उक्त कार्यका लागि दैनिक २० जनाले स्वयंसेवकका रूपमा सहयोग गर्दै आएका थिए ।

मानवीय सेवाका लागि संस्थाका सदस्य एवं सहयोगी मन भएका सङ्घसंस्था तथा व्यक्तिहरूले खाद्यान्न सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए । विषम परिस्थितिमा केही संस्थाहरूले खाना समस्यामा परेका व्यक्तिलाई उनीहरूकै बासस्थान लगेर समेत सेवा गर्दै आएको उपाध्यायले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि