कात्तिक ३०, २०८१, शुक्रबार
               

भाटभटेनीलाई जरिवाना र एक महिना कैद सजाय

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

चितवन । लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले एक हजार रुपैयाँ जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । 

उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार  तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो । 

भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । 

निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए । 

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ । 

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा  काठमाडौं फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई २५–२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई १०–१० हजार धरौटी तोकिएको उनले जानकारी दिए । 

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए । 

उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ । 

यो पनि