सरकारले लकडाउनलाई आज (विहीबार) देखि पुनः कडाइका साथ लागू गरेको छ । जसका कारण फेरि जनजीवन प्रभावित भएको छ ।
लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको सङ्ख्या पनि बढेको भन्दै कडाइ गरिएको हो । पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसरी सङ्क्रमित देखिएका मानिस बाहिरी जिल्लाबाट आएको खुलेपछि बिहीबारबाट पुन: कडाइ गरिएको हो ।
कैलाली र सुनसरीबाट आएका दुई महिलामा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरू लकडाउनको समयमा सरकारले जारी गरेको सवारी पास लिएर नै जिल्ला बाहिरबाट आएको खुलेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो ।
उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरूको सवारी साधन सञ्चालन गर्न दिएको थियो ।
तर बिहीबारबाट उपत्यकामा सवारी चेक जाँचलाई थप कडाइ पारिएको गृह मन्त्रालयले जनाएको छ । ‘आजबाट गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरेको छ, अब नाकामा थप कडाइ गरिएको छ । अत्यावश्यक पासलाई पनि चेक गरेर मात्र छिर्न दिइएको छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।
लकडाउनमा कडाइसँगै सडकमा मानिसहरूको आवागमन पनि न्यून देखिएको छ । अत्यावश्यक सेवाका साधनहरू, उपभोग्य वस्तुका साधनहरू, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाड्ने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ ।
उपत्यकाभित्र सङ्क्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर ठिमी र काठमाडौँको चन्द्रागिरि नगरपालिकामा थप कडाइ गरिएको छ । सङ्क्रमित रहेको टोलमा मानिसलाई हिँडडुल गर्न समेत रोक लगाइएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने ‘ती क्षेत्रमा पूर्ण सिल गरेर कन्ट्रायक ट्रेसिङको काम भइरहेको छ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकारअनुसार आजसम्म २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन् । अहिलेसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ ।
६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेनटाइनमा छन् । परीक्षणको दायरा बढाउन सरकारलाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।