असोज ०६, २०८१, आइतबार
               

कोरोनाको खतराको घण्टी बजेपछि उपत्यकावासी त्रसित
लकडाउनको ५१औँ दिन, सवारी आवागमन घट्यो

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

नेपालमा जारी लकडाउन ५१औँ दिनमा पुग्दा (बुधबार) काठमाडौ‌ं उपत्यकामा त्रास बढेको छ । मङ्गलबार काठमाडौंलगायत देशका विभिन्न ठाउँमा गरी थप ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्रास बढेको हो ।

त्रासकै कारण अघिल्ला दिनका तुलनामा काठमाडौंमा सवारी साधन कम चलेका छन् । सडकमा आवागमन समेत ह्वात्तै घटेको  पाइएको छ । मङ्गलवार एकै दिन भक्तपुरमा २ र काठमाडौंमा १ सहित ८३ जना सङ्क्रमित भेटिएपछि उपत्यकामा विगतकोभन्दा चहलपहल कम भएको हो ।

भयावहको स्थिति सिर्जना भएपछि मानिसहरुले आफैँ लकडाउन पालना गरेका हुन् । अर्कोतर्फ, सङ्क्रमित जिल्लाहरूबाट समेत मङ्गलबार काठमाडौँ प्रवेश गर्नेहरूको सङ्ख्या ७ हजार पुगेको तथा पास नभएकाहरू चोर बाटो भएर काठमाडौँ प्रवेश गरेको खबरले काठमाडौ‌ंमा खतराको घण्टी बजेको छ ।

यसअघि तीन दिनअघि खुकुलो हुन पुगेको लकडाउनमा कडाइ हुने देखिएको छ । विगतमा उल्लङ्घन गर्नेहरू बढ्थे र सरक्षाकर्मीले रोक्नुपर्थ्याे । अब भने काठमाडौ‌ं उपत्यकामा खतराको घण्टी बजेपछि आमनागरिकहरुमा त्राससँगै सचेतना बढेको  छ । लामो लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गएको आइतबारदेखि ४२ प्रकारका उद्योग–व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएको छ । यो निर्णयसँगै बढेको सवारीसाधनको चाप ह्वात्तै घटेको छ ।

जस कारण आइतबारदेखि केही भीड बढेको सडक पुन: सुनसानतर्फ फर्काएको छ । नेपालमा दोस्रो सङ्क्रमित भुटिएपछि चैत ११ गते बाट लकडाउन गरिएको थियो । तर, सङ्क्रमण शून्यमा जाने जुन सोच र लक्ष्य लिएर लकडाउनको समयावधि ४ पटकसम्म थपिए पनि सङ्क्रमण नियन्त्रण आउन सकेको छैन ।

सरकारी कर्मचारी र बैंकरलाई त्रास
मङ्गलवारसम्म विभिन्न उद्योग, बैङ्क, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारीसाधनको चाप उपत्यका अत्यधिक देखिएको थियो । सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाप बढेको थियो । तर काठमाडौ‌ंमा सङ्क्रमित भेटिएपछि उनीहरू पनि त्रसित बनेका छन् । उपत्यकामा सवारी सञ्चालनका लागि आइतबारदेखि टाइम कार्डको व्यवस्था गरिएको छ ।  बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म  उपत्यकाको सडकमा सवारीसाधनको चाप अत्यधिक हुने गरेको छ । बुधवार बिहान भने सडकमा कम सवारी देखिएका छन् ।

विभिन्न खाद्यान्न र फलफूल, औषधि पसललगायत दैनिक उपभोग्य वस्तु पाइने पसलहरू भने सञ्चालनमै छन् । विगतजस्तै मानिसहरू आफ्नो घरनजिकको पसलसम्म पुगेर अत्यावश्यक वस्तुहरू किनमेल गरिरहेका छन् । तर उनीहरुमा अरू दिनमा भन्दा बढी त्रसित र सतर्क देखिएका छन् ।

 खुलेनन् उद्योगहरू
सरकारले गत साताबाट ४४ प्रकारका उद्योगहरू खोल्ने घोषणा गरेको थियो । खाद्यान्न, उत्पादन र प्रशोधन, दूध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, बिस्कुट, पशु औषधि र कीटनाशक औषधिलगायतका वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

तर, धेरैजसो उद्योगहरूले श्रमिक, कच्चापदार्थ, र अरू वातावरण नभएको भन्दै सञ्चालन गरेका छैनन् । बालुवा प्रशोधन तथा वर्कसप, छापाखाना तथा प्रेससम्बन्धी उद्योगलगायत खुलेका देखिएको छ । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री–वितरण गर्ने व्यावसायिक मल र होटेल तथा रेस्टुरेन्टहरू सञ्चालन गर्न नपाइने निर्णय सरकारको निर्णय छ । 


कस्तो लाग्यो ?

यो पनि