असोज ०६, २०८१, आइतबार
               

आफ्ना नागरिकलाई चीनको सुझावः नेपालको कानून पालना गर्नु

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले नेपालको कानून पालना गर्न आफ्ना नागरिकलाई सुझाव दिएको छ । शुक्रबार नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटनाको दुःख व्यक्त गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई उक्त सुझाव दिएको हो ।

दूतावासले आफ्ना नागरिकहरुलाई अनावश्यक काम बाहेक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रह गरेको छ ।

आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

उक्त घटनाको सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने जनाएको छ । दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गररेका छन् ।
 
यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान मे ३१ सम्म स्थगित गरेको र सीमित उडान क्षमताको कारण धेरै चिनियाँ नागरिकहरु अहिले पनि नेपालमा फसेका छन् । उनीहरुलाई पनि स्वदेश फर्काउन नेपाली पक्षसँग सम्पर्क कायम राख्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि