असोज ०६, २०८१, आइतबार
               

प्रधानन्यायाधीशद्वारा कानून दिवसको शुभकामना सन्देश

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

उनले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गरे । उनले यसबाट न्यायको प्राप्तिमा पुग्नगएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गरे । “सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीलसम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेको समेत अनुभूति गराएको छ”, सन्देशमा भनिएको छ, “महामारीका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एकापसमा शुभकामना आदानप्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत समृद्ध सबैमा हार्दिक अपिल गर्दछु ।”

नेपाल प्रधानन्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वको योगदानको स्मरण गर्दै प्रधानन्यायाधीश जबराले यस विशेष दिनमा उनहरूप्रति हार्दिक सम्मान व्यक्त गरे। “न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”, सन्देशमा भनिएको छ, “न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवं जनास्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गन विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वास सन्देशमा गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २५० हजारभन्दाबढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नुपरेको दुखद् अवस्था रहेको सन्देशमा भनिएको छ । औषधि पत्ता नलागेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि सन्देशमा स्मरण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि